कारागार झडपमा मृत्यु भएका चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

आइतवार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।

nisarga

यसैगरी कारागारभित्र होलोजन लाइट, सिसि क्यामरा जडान गर्ने, कारागारकोे मर्मत सम्भार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरु गर्ने, कारागारको सुरक्षाका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कारागार ऐनमा आवश्यक सुधारका लागि नेपाल सरकारसँग आग्रह गर्ने, क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारण सुरक्षा चुनौती देखिँदा यसको न्यूनीकरणका लागि कारागार विभागसँग समन्वय गर्ने, मन्त्रालय र कारागारले आपसमा समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्शका साथै सकारात्मक सोचको विकास गर्ने कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णय गरिएको हो।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की, प्रदेशस्थित तीन वटै सुरक्षा निकायका प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी र कारागार शाखाका प्रमुख, राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीलगायतको सहभागिता थियो।