पावर टिलरमा ठगिएका किसान बिलखबन्दमा

Image
गत कात्तिक २५ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका ठगीमा परेका गोदावरीका किसानहरु
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ६ बडेहाँका पृथ्वीनारायण चौधरीले ७५ प्रतिशत अनुदानमा कृषि उपकरण पावर टिलर पाइने भन्ने खबर सुने । २०८१ भदौको पहिलो हप्तातिर आफ्नै गाउँकी सोनम चौधरीले उक्त प्रक्रिया अगाडि बढाइरहेको थाहा पाएपछि उनले पनि पावर टिलर लिने मनसाय बनाए । यसरी ठगी पनि भइरहेको छ भन्ने खबर बेला बेलामा सुनेका उनले सुरुमा बुझ्न खोजे । तर गाउँका सबैले धमाधम फाराम भर्दै, पैँसा बुझाउँदै गरे ।

सबैले फाराम भरिसके, फाराम भर्ने मिति सकिन लाग्यो के गर्ने हो भन्दै सोनमले नै फोन गरिन् । उनले आफ्नै मान्छेमाथि विश्वास नगरेको भन्दै गुनासो पनि गरिन् । तीन महिनाभित्र पावर टिलर पाइने विश्वास सोनमले दिलाइन् । केहि दिन अगाडि गाउँकै चारपाँच परिवारलाई पावर टिलर वितरण पनि गरेको हुँदा उनलाई विश्वास पनि लाग्यो । पावर टिलर लिनका लागि फाराम भर्न र ७० हजार रकम जम्मा गर्न भनियो । दुई लाखभन्दा बढी पर्ने पावर टिलर ७० हजारमै पाइने भनेपछि पृथ्वीनाराणको मन लोभियो । करिब ४ कठ्ठामा तरकारी खेती गर्दै आएका पृथ्वीनाराणले आफूसंग भएको र नपुगेको पैसा सरसापट गरी सोनमलाई बुझाए ।

nisarga

पैसा बुझाएबाफत बिल माग्दा आफ्नै गाउँको मान्छे, किन बिल चाहियो? हामी जिम्मेवार छौँ भन्ने जवाफ पाए । “त्यो फारामको फोटो खिच्न खोज्दा खिच्न पाइँदैन भनेर खिच्न दिएनन्, पृथ्वीनाराणले भने, पैसा बुझाएबाफत बिल माग्दा आफ्नै गाउँको मान्छे, किन बिल चाहियो? हामी जिम्मेवार छौँ भने ।” १५ महिना बितिसक्दा पनि न पावर टिलर, न पैँसा नै फिर्ता पाउँदा पृथ्वीनारण बिलखबन्दमा परेका छन् । गोदावरी- ६ कै राज कुमार चौधरीको पिडा पनि त्यस्तै छ ।

तोरी छर्ने सिजनसम्म पावर टिलर आउँछ भनेर २०८१ भदौ ९ गते ७० हजार रुपियाँ सोनमलाई बुझाएका उनी उल्टै पटकपटक कहिले प्रहरी कार्यालय त कहिले सोनमको घर धाउनु परेको छ । गत कार्तिकको अन्तिम हप्ता पनि उनीसहित ठगीमा परेका व्यक्तिहरु इलाका प्रहरी कार्यालय मालाखेती पुगेका थिए । त्यसबेला दुई पक्षबिच मंसिर मसान्तमा पैसा फिर्ता गर्ने सहमति भए पनि पैसा नपाइएको राज कुमारले बताए । सोनम र सोनमकी दिदी वडा नम्बर–६ कै प्रियङ्का चौधरीले किसानबाट रकम सङ्कलन गरेकी थिइन ।

सम्बन्धित समाचार : पावर लिटर दिने भन्दै ठगिएका किसान फेरि प्रहरीमा

प्रियङ्का गोदावरी नगरपालिका वडा नम्बर- ६ का वडाध्यक्ष जग्गुराम चौधरीकी बुहारी समेत हुन् । ६८ जनाले सोनमलाई र १०६ जनाले प्रियङ्कालाई ७० देखि १ लाख २५ हजारसम्म रकम बुझाएका छन् । अनुदानमा पावर टिलर पाउने आसमा किसानले २०८१ भदौमा प्रति पावर टिलर ७५ हजारदेखि १ लाख २५ हजारसम्म रकम सोनम र प्रियङ्कालाई बुझाएका थिए । १ वर्षसम्म पनि पावर टिलर नपाएपछि उनीहरु गत असारमा इलाका प्रहरी कार्यालय मालाखेती पुगेका थिए ।

त्यसबेला सोनम र प्रियङ्का दुवैले तीन महिनाभित्र सबैको रकम फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम रकम फिर्ता नपाएपछि उनीहरु कात्र्तिकमा फेरि प्रहरी कार्यालय पुगे । त्यसबेला पनि २०८२ मंसिर ३० गतेभित्र रकम फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम रकम फिर्ता नपाएपछि उनीहरु फेरि सोनम र प्रियङ्काको घर धाउन थालेका छन् ।

उनीहरु दुवैजना सुरो नेपाल नामक संस्थासंग आवद्ध भएको र यो संस्थाले कैलाली,कञ्चनपुर,बाँके र बर्दीयाका किसानहरूलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको प्रहरीको भनाई छ । ठगीकै आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाइ गत जेठ १७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको थियो । पक्राउ परेकी सुनिता सोमम र प्रियङ्काकी आमा हुन् । यता सोनमले भने आफूहरु पैसा फिर्ता गर्ने प्रक्रिया मिलाइरहेको बताएकी छिन् ।