
अत्तरिया – जेनजी आन्दोलनमा क्षति भएको कैलालीको गोदावरी नगरपालिकाको भवन पुननिर्माण कार्य धमाधम भइरहेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा नगरपालिकाको भवनमा आगजनी र तोडफोड गरिएको थियो ।
गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्काले गत मंसिरदेखि नै पुनर्निर्माणको काम भइरहेको बताए । आन्तरिक श्रोतबाट नै पुनर्निर्माण गरिरहेको नगरपालिकाले हाल सिभिल निर्माणको काम मात्रै गरिरहेकोे हो । जस अन्तरगत झ्यालढोका, रङरोगन, प्लास्टर, टाइल, खानेपानी र बिजुली जडानको कार्य भइरहेको हो ।

मूल्य अभिवृद्धी करसहित ८७ लाख रकममा आस्था बिजनेस ग्रुपले पुनर्निर्माणको काम गरिरहेको हो । सम्झौता अनुसार २०८२ फागुनमा पुनर्निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने र पुस २० गतेसम्म करिब ८० प्रतिशत काम भइसकेको इन्जिनियर खड्काले बताए ।
निर्माणका समयमा गरिएको इष्टिमेट अनुसार नगरपालिकाले ९ करोड ५३ लाख ६२ हजार ३४ रुपैयाँ क्षतिको विवरण निकालेको थियो । नगरपालिकाको स्वास्थ्य शाखामा मात्रै औषधीजन्य लगायतका सामान जल्दा ९२ लाख ४८ हजार ८६० रुपैयाँको क्षति भएको तथ्यांक नगरपालिकाको जिन्सी शाखाले निकालेको थियो ।
त्यस्तै जिन्सी शाखामा खर्च भएर जाने र खर्च भएर नजाने गरी ३ करोड ६४ लाख १३ हजार १७४ रुपैयाँ बराबरको क्षति भएको थियो भने भौतिक पूर्वाधार र भवनको अन्य क्षति भने ४ करोड बढीको भएको थियो ।
त्यस्तै रंगरोगन, टायल, झ्याल ढोका, वायरिङ, खानेपानी र तत्कालीन समयमा एडिबीले प्रदान गरेका फर्निचरहरू समेत गरी कुल क्षति ९ करोड ५३ लाख ६२ हजार ३४ रुपैयाँ रहेको थियो ।
गरिएको थियो दुई करोडको पुनर्निर्माण कोष खडा
क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न गोदावरी नगरपालिकाले दुई करोडको पुनर्निर्माण कोष खडा गरेको थियो । जेनजी आन्दोलन लगत्तै बसेको विशेष नगर सभाले दुई करोडको पुनर्निर्माण कोष खडा गर्ने निर्णय गरेको थियो ।
जस्मा प्रत्येक वडाबाट ५/५ लाख रुपैयाँ, नगरपालिकाको स्वास्थ्य र शिक्षा बाहेकका विषयगत शाखाबाट १०/१० लाख रुपैयाँ र जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा बराबरको रकम जम्मा गर्ने निर्णय भएको थियो ।
त्यस्तै चालु र कार्यालय सञ्चालन प्रकृतिका खर्चहरु कटौती गरिएको कर्मचारीहरुलाई प्रदान गरिने प्रोत्साहन खर्च पनि सो कोषमा जम्मा गरिएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले बताए ।
नगरपालिकाले १ करोड ६० लाखको इस्टिमेट गरी इ-टेन्डर आह्वान गरेकोमा ८७ लाखमा आस्था बिजनेस ग्रुपलाई ठेक्का परेको थियो ।














