एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा कसले के भने ?

Image
maya metro

कैलाली – नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी आयोजित सुझाव सङ्कलन कार्यक्रममा सुदूरपश्चिममा ४६ जनाले धारणा राखेका छन्। जिल्ला तथा प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टी सुदृढ बनाउन विभिन्न विकल्प प्रस्तुत गरेका थिए।

कार्यक्रममा आएका प्रतिनिधिहरूको सुझावभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्था, निर्वाचन विश्लेषण र आगामी रणनीतिबारे भर्चुअल सम्बोधन गरेका थिए।

nisarga

करिब एक घण्टाको सम्बोधनका क्रममा उनले पार्टीभित्र चौतर्फी घेराबन्दी भइरहेको भन्दै अहिले नै आफूले मार्गप्रशस्त नगर्ने सन्देश दिएका थिए।

‘चौतर्फी घेराबन्दीको बीचमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेला आएको छ,’ उनले सहभागीहरूलाई भने, ‘अहिले सुझाव सङ्कलनका लागि साथीहरू त्यहाँ पुग्नुभएको छ। तपाईंहरूले आफ्ना कुराहरू निधक्क राख्नुस्। ’

पार्टीभित्रको तिक्ततालाई सङ्केत गर्दै ओलीले मतभेद बढ्दै जाँदा समस्या हुने बताएका थिए।

‘यो डोरी धेरै तन्कियो भने चुँडिन सक्छ। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ, ’ उनले भनेका थिए, ‘सहज अवस्थामा मैले नेतृत्व गरेँ। असहज अवस्थामा मैले बिदा हुन चाहन्नँ। ’

ओलीको सम्बोधनपछि जिल्लाहरूबाट सुझावहरू प्रस्तुत भएका थिए। डडेल्धुरा, अछाम र बाजुराले लिखित प्रतिवेदन नै बुझाएका थिए भने अन्य जिल्लाका सबै पदाधिकारीहरूले आफ्ना कुराहरू राखेका थिए।

दार्चुला जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले विभाजन ल्याउने गरी गतिविधि गर्न नहुने बताएका थिए।
‘भोलि पार्टी विभाजन भयो भने समस्या पर्छ। सिङ्गो दार्चुला सूर्य चिन्ह र एमाले जहाँ हुन्छ, त्यहीँ उभिने हो। बाँकी तपाईंहरूको कुरा हो, ’ उनले भनेका थिए।

बैतडीका पार्टी जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उपसचिव पुनर्गठनको पक्षमा उभिए।

‘२०६४ सालभन्दा पनि कमजोर भएको छ। गम्भीर समीक्षा आवश्यक पर्छ, ’ उनीहरूले बताएका थिए।

महिला उपसचिवले भने केपी ओलीको राजीनामा मागेर मात्रै समस्या समाधान नहुने बताइन्।

डडेल्धुराबाट अध्यक्ष उपस्थित नभए पनि अन्य पदाधिकारीहरूले पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने बताएका थिए।

‘जनप्रतिनिधि गलत बाटो हिँडे। नेताहरूकै सन्तानले घण्टीमा भोट मागे। ६० कटेकालाई सम्मानजनक बिदाइ गर्नुपर्छ, ’ पार्टी उपाध्यक्षले कार्यक्रममा भनेका थिए।

बझाङ जिल्लामा पार्टी सचिव नैनसिंह बोहराले जिल्ला कमिटी एकढिक्का भएर निर्वाचन जितेको बताए।

‘केही नेताहरूले अन्तर्घात गरे। जिल्लाको छानबिन समितिले त्यसको प्रतिवेदन केन्द्रलाई पठाउँछ। कारबाही गर्नुपर्छ, ’ उनले भनेका थिए।

पार्टी केन्द्रको कार्यविभाजन सच्याउनुपर्ने उनले माग गरे। अध्यक्ष ओलीलाई मात्रै राजीनामा दिन लगाएर अन्य पदाधिकारीहरूले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो।

‘तपाईंहरूले पनि आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुहोस्, हामी साथ दिन्छौँ, ’ उनले भने।

उपसचिव पंकज भण्डारीले पनि प्रदेशको नियुक्तिदेखि केन्द्रको कार्यविभाजनको विरोध जनाए।

‘पार्टी अध्यक्ष हटाउने भए उपाध्यक्ष र महासचिवले पनि बिदा हुनुपर्छ, ’ उनले भने, ‘सुदूरपश्चिममा संसदीय दलका नेता राजेन्द्रसिंह रावलका कारण पार्टी अझै कमजोर भएको छ। अब प्रतिपक्षमा बस्नुपर्छ। ’

डोटी जिल्ला अध्यक्ष मञ्जु मलासीले केपी ओलीलाई हटाउने कुराको विरोध जनाइन्। टिकट वितरणमा पनि उनको असहमति रहेको थियो।

‘अध्यक्ष परिवर्तन गर्ने भए विकल्पमा को छ? नाम दिनुहोस्, ’ उनले भनिन्।

जिल्ला पार्टी अध्यक्ष केन्द्रीय अध्यक्षको पक्षमा बोल्दा उपाध्यक्षसहित सचिव र उपसचिव सबैले पार्टी रिफर्म हुनुपर्ने बताए।

अछाम जिल्लाले पनि यस विषयमा लिखित प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदन पढेर सुनाइएको थियो।

‘केन्द्रदेखि वडासम्म सबै रिफर्म हुनुपर्छ। जनसङ्गठन स्वायत्त बनाउनुपर्छ। सम्मानजनक नेतृत्व हस्तान्तरण गर्नुपर्छ, ’ अछाम अध्यक्ष शिवप्रसाद उपाध्यायले भनेका थिए।

बाजुराका अध्यक्ष लालबहादुर ओलीले केपी ओली मात्रै बिदा भएर संगठन मजबुत नहुने बताएका थिए।

‘पार्टी अध्यक्ष मात्रै होइन, अन्य पदाधिकारी पनि बिदा हुनुपर्छ। आयोजक समिति बनाउनुपर्छ, ’ उनले भने, ‘प्रदेश सरकारको मन्त्रिमण्डल फेरिनुपर्ने थियो, त्यो नहुनु लज्जाको विषय हो। ’

उनले जिल्लादेखि प्रदेशसम्मका इन्चार्जहरूको जिम्मेवारीप्रति पनि गुनासो गरेका थिए।

पार्टी अध्यक्षदेखि सबै पदाधिकारीले राजीनामा दिनुपर्नेमा उनको जोड थियो।

कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुङ्गाना ओली पक्षमा देखिए। वर्तमान नेतृत्व महाधिवेशनबाट निर्वाचित भएको बताउँदै उनले अध्यक्ष ओलीले स्वीकार गरे मात्रै बिदा गर्नुपर्ने बताएका थिए।

यता जिल्ला उपाध्यक्ष र सचिव पार्टी रिफर्मको पक्षमा उभिए। जिल्ला सचिव ममता चौधरीले एउटा वडामा सङ्गठित सदस्यभन्दा कम मत आएको विषयसमेत उठाएका थिए ।

‘धनगढी वडा नम्बर ५ मा सङ्गठित सदस्य ८०० छन्, भोट ४ सय आयो, ’ उनले भने , ‘फरक पार्टीका व्यक्तिलाई पनि सदस्य बनाइएको हुँदा यस्तो भएको हो। ’

कञ्चनपुर जिल्लाको सिङ्गो कमिटीले पुनर्गठनको पक्षमा धारणा व्यक्त गरेको थियो।

‘अघिल्लो निर्वाचनमा आएकोमध्ये एक तिहाइ मत पनि आएन, ’ अध्यक्ष लक्ष्मी बुढाले भनिन्, ‘टिकट वितरण शैली गलत भयो। केन्द्रले अनावश्यक हस्तक्षेप ग¥यो। ’

कञ्चनपुर जिल्लामा २६ जनाले मात्रै सदस्यता नवीकरण गरेको समेत उनले बताएकी थिइन्।

‘कार्यकर्तामा उत्साह छैन, निराशा मात्रै छ। पार्टी केन्द्र, जिल्ला, प्रदेशदेखि वडा सबै कमिटी पुनर्गठन हुनुपर्छ, ’ उनले भनिन्।

जिल्ला पदाधिकारीझैँ प्रदेशका पदाधिकारीहरूले पनि पुनर्गठनको पक्षमा धारणा व्यक्त गरेका थिए। प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले केन्द्रले प्रदेशमा अनावश्यक हस्तक्षेप गरेको बताए।

‘केन्द्रको हस्तक्षेप बढी भयो। प्रदेश कमिटी सेरेमोनियल बन्यो। प्रदेश कमिटीको कार्यकारी अधिकार कुण्ठित भयो, ’ प्रदेश अध्यक्ष जैशीले भने।

अध्यक्षसँगै सचिव र उपसचिव पनि पुनर्गठनको पक्षमा देखिए।

अर्की उपसचिव भागरथी विष्टले पनि पार्टी रूपान्तरण हुन आवश्यक रहेको बताएकी थिइन्।

‘सिद्धान्त र व्यवहार सुधार गर्नुपर्छ। कार्यदिशा प्रशिक्षण पार्टीमा आवश्यक छ, ’ उनले भनिन्, ‘विभाजनमा जाने कुरा राम्रो हुँदैन। पार्टी एकढिक्का बनाएर अघि बढ्नुपर्छ। ’

केन्द्रीय सदस्यहरूको पनि पुनर्गठनमा जोड

सुझाव सङ्कलनमा आएका केन्द्रीय सदस्यहरूमध्ये अधिकांशले पुनर्गठनको पक्षमा धारणा राखेका थिए।

कञ्चनपुरका कृषा राना र कमला बोहरा दुवै रिफर्मको पक्षमा देखिए।

बाजुराका कर्ण थापा, नरेश रोकाया र सहदेव बोगटीले रिफर्मको विषय उठाउँदा लालबहादुर थापाले भने अध्यक्षको कारण मात्रै यस्तो नभएको भन्दै सबैले आफ्ना कमजोरी स्वीकार गर्न सक्नुपर्ने बताएका थिए।

बझाङबाट ऐन महरले पार्टीको संस्थागत निर्णयभन्दा बाहिर आफू नजाने प्रस्ट पारेका थिए। उता अफिलाल ओखेडाले भने रिफर्म हुनुपर्नेमा जोड दिए।

दार्चुलाका गणेश ठकुन्नाले कार्यविभाजन बेठीक भएको उल्लेख गरे।

‘नेताको वरिपरि रहने र जनताको वरिपरि रहने कार्यकर्ताबीचको फरक छुट्याउनुपर्छ, ’ उनले भनेका थिए।

बैतडीबाट लिलाधर भट्टले पुरै रिफर्म हुनुपर्नेमा जोड दिँदा दामोदर भण्डारी र गोविन्द गिरीले पनि पुनर्गठनको पक्षमा धारणा राखे।

डडेल्धुराका केन्द्रीय सदस्य पठानसिंह बोहरा उपस्थित नभए पनि उनले पुनर्गठनकै पक्षमा सन्देश पठाएका थिए।

डोटीबाट चक्र मल्लले टिकट वितरणको शैली गलत रहेको बताए।

‘अघिल्लो पटक र अहिले दुवैपटक अन्याय भयो। दोषी ओली मात्रै होइनन्, सबै हुन्। राजीनामा दिए सबैले दिनुपर्छ, ’ उनले भने।

कैलालीबाट कमल ओलीले टिकट वितरण गलत रहेको बताइन्। गौरीशङ्करले एउटा व्यक्ति मात्रै फेरेर पार्टी निर्माण नहुने भन्दै पुरै रिफर्म हुनुपर्नेमा जोड दिएका थिए।

सन्तोष शर्मा थापाले कसैले अवसरमाथि अवसर पाउँदा आफूमाथि विभेद भएको गुनासो पोखिन्।

‘मन्त्री बनाउन भनेर सपथ खान जा भनियो, अन्तिममा त्यो निर्णय बदलेर अपमान गरियो, ’ उनले भनिन्।

अछामका यज्ञ बोगटीले कार्यविभाजन गलत रहेको टिप्पणी गरे।

‘पुरै रिफर्म हुनुपर्छ, अध्यक्ष मात्रै होइन। नेताको वरिपरि रहेकाहरूलाई विश्वास गर्ने, जनताको वरिपरि रहेकाहरूलाई विश्वास नगर्ने परम्पराको अन्त्य हुनुपर्छ, ’ उनले भनेका थिए।

करिब १३ घण्टा चलेको छलफलमा ४ विषयमा ४६ जनाले खुलेर धारणा राखेका थिए।

४ विषयमा सुझाव संकलन, उपाध्यक्ष उत्साही

निर्वाचनमा भएको निराशाजनक परिणामको कारण र निर्वाचनपछि पार्टी पङ्क्तिको मनस्थिति एवं पार्टी काममा त्यसले पारेको असर, पार्टी पङ्क्तिमा गिरेको मनोबल उच्च बनाउन र जनतासँग टुटेको सम्बन्ध पुनः जोड्न खेल्नुपर्ने भूमिका, पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहित पार्टी पुनर्गठनको ठोस योजना तथा पार्टी पुनर्गठन सन्दर्भमा कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी दिनुपर्ने सुझावका विषयमा भएको छलफल निकै प्रभावकारी भएको पार्टी उपाध्यक्ष विष्णु पौडेल ले समेत बताएका छन्।

सुझाव सङ्कलन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले करिब १३ घण्टा लामो छलफलका क्रममा पार्टीका नेता–कार्यकर्ताबाट महत्वपूर्ण विचार, विश्लेषण र सुझाव प्राप्त भएको उल्लेख गरेका हुन्।

उनका अनुसार नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले पार्टी र मुलुकको उज्ज्वल भविष्य निर्माणका विषयमा मर्मस्पर्शी धारणा राखेका थिए। समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यका साथ संस्थागत निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको उनले बताएका छन्।

पौडेलले पार्टी सञ्चालनका लागि स्वीकृत विधि र प्रक्रियाको पालना आवश्यक रहेको उल्लेख गर्दै विधिको पालनाले सङ्गठनात्मक एकता सुदृढ हुने र उल्लङ्घनले विग्रह तथा विभाजन निम्त्याउने बताए। पार्टीभित्र देखिएका वा देखापर्न सक्ने हरेक समस्याको समाधान विधिको सीमाभित्र रहेर खोजिनुपर्ने उनको भनाइ छ।

उनले स्वस्थ छलफल, बहस र सुझावलाई विभाजनको पूर्वाभ्यासका रूपमा चित्रित गर्ने वा निषेध गर्ने प्रवृत्ति उचित नहुने बताए। त्यस्तै, बहस र छलफलको आडमा विभाजनको आधार तयार पार्ने प्रयास पनि स्वीकार्य नहुने उनको धारणा छ।

उपाध्यक्ष पौडेलले विभाजनको मनोवैज्ञानिक त्रास सिर्जना गरेर छलफल र सुझावलाई निरुत्साहित गर्ने तथा छलफलका नाममा अराजकताको मार्ग रोज्ने दुवै प्रवृत्ति अस्वीकार्य रहेको स्पष्ट पारे।

उनले कार्यक्रममा सहभागी नेता–कार्यकर्ताबाट आएका विधिसम्मत, स्वस्थ, भयरहित र तर्कपूर्ण सुझावहरूको स्वागत गर्दै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका पक्षमा प्रस्तुत विचार, विश्लेषण र सुझावहरू ग्रहणयोग्य रहेको बताएका छन्।

कार्यक्रमको अध्यक्षता पार्टी प्रदेश इन्चार्ज दामोदर भण्डारीले गरेका थिए भने सञ्चालन पार्टी प्रदेश सचिव रणबहादुर चन्दले गरेका थिए ।

स्वागत मन्तव्य प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले व्यक्त गरेका थिए । प्रदेश उपसचिव भागरथी विष्ट, बाजुरा अध्यक्ष लालबहादुर ओली र कैलाली सचिव ममता प्रसाद चौधरीले टिपोट समितिमा थिए ।
सुझाव सङ्कलनको लागि कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादल, अर्का दुई उपाध्यक्ष विष्णु पौडेर र पृथ्वीसुब्बा गुरुङ गुरुङ र महासचिव शङ्कर पोख्रेल आएका थिए ।

साभार गरिएको