
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले स्टिम क्लब स्थापना गरेको छ । कक्षा १२ का छात्र सक्षम उपाध्यायको अध्यक्षतामा विद्यालयले स्टिम क्लब स्थापना गरेको हो । क्लबमार्फत आज विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका छन् ।
प्रदर्शनीको पहिलो दिन आज आयोजित कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विद्यार्थीलाई आधुनिकतातर्फ जोड्ने उदेश्यले क्लबको स्थापना गरिएको बताए ।
उनले स्टिम क्लब स्थापनामा विद्यार्थीहरुले समेत औधी रुचि देखाएको भन्दै विज्ञानले उनीहरुलाई रोजगारीमा समेत जोड्ने बताए ।
विद्यार्थीहरूलाई पनि क्लबमार्फत नयाँ सीप सिक्ने, अनुसन्धानमा सहभागी हुने तथा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने उनले बताएका छन् ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले देशमै केहि न केहि आविष्कार गर्नुपर्छ भन्नेमा दुर्गालक्ष्मीका विद्यार्थीहरु अग्रसर भएको बताए ।
त्यस्तै व्यवस्थापन समितिकी सदस्य मन्जु साउँदले दुर्गालक्ष्मीका विद्यार्थीहरुले नयाँनयाँ आविस्कार गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।
क्लबले विद्यार्थीहरूको व्यवहारिक ज्ञान तथा नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्ने विश्वास उनले व्यक्त गरे ।
क्लबका अध्यक्ष उपाध्यायले क्लबका स्थापना गर्न शिक्षक, विद्यार्थी तथा व्यवस्थापन समितिले सहयोग गरेको भन्दै धन्यवाद दिए ।
क्लबमार्फत अब आफूहरुले निरन्तर नयाँनयाँ आविष्कार गरि विज्ञान प्रदर्शनी गर्ने बताए ।















