उधारोमा चल्दै छ सरकारी कार्यालय

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय र प्रदेश सरकारमातहतका सरकारी कार्यालय उधारोमा सञ्चालन भइरहेका छन् । बजेट शून्यताका कारण मन्त्रालयसहित विभिन्न सरकारी कार्यालय दुई महिनादेखि उधारोमा सञ्चालन भइरहेका हुन् ।

चालु आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत भएको बजेट असफल भएपछि सुदूरपश्चिम दुई महिनादेखि बजेटविहीन छ । अल्पमतमा परेको सरकारले प्रदेश सभाबाट बजेट पास गराउन नसक्दा त्यसको असर विकास निर्माणदेखि कार्यालय सञ्चालनसम्म परेको छ ।

nisarga

कार्यालय सञ्चालनका लागि चाहिने अति आवश्यक सामग्री उधारोमा खरिद गरेर कार्यालय चलाउनु परेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले बताए ।

उनले भने, “बजेटै नभएकाले प्रायः सबै खर्च ठप्प नै छ तर कार्यालय सञ्चालन गर्नका लागि अत्यावश्यक सामग्री उधारोमा ल्याएर काम चलाइएको छ ।”

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकार अल्पमतमा परेपछि प्रदेश सभाबाट बजेट पारित हुन सकेको थिएन । बजेट पारित नहुँदा यो प्रदेशमा बजेट ‘होली डे’ चलिरहेको छ । यसअघि आव २०८०/८१ मा पनि तत्कालीन सरकारले बजेट पास गराउन नसकेपछि दुई महिनासम्म प्रदेश बजेट शून्यताबाट गुज्रेको थियो । त्यसबेला प्रदेश सरकारले असोज ५ गते नयाँ बजेट ल्याए पनि चालु आवमा भने अझै बजेट तयारीकै चरणमा रहेको छ ।

यस आवका लागि पुनर्लेखन गरेर नयाँ बजेट ल्याउने तयारी भइरहेको छ । बजेट नहुँदा प्रदेश सरकारमातहतका कर्मचारीले  दुई महिनादेखि पारिश्रमिक पाएका छैनन् । दुई महिनादेखि कर्मचारीको तलब भुक्तानीलगायत अन्य कार्य पूर्ण रूपमा ठप्प रहेको प्रदेश लेखा नियन्त्रकको कार्यालय धनगढीका सूचना अधिकारी बलदेव कापडीले बताए ।

उनले कर्मचारीले दुई महिनाको तलब नपाएको जनाउँदै भने, “विकासनिर्माणको कार्य पनि प्रभावित भइरहेको छ । बहुवर्षीय आयोजनाका काम निर्माण कम्पनीले गरिरहे पनि भुक्तानी पाउन सकेका छैनन् ।”

प्रदेश सरकारले असोज दोस्रो सातासम्म बजेट प्रदेश सभामा प्रस्तुत गर्ने गरी तयारीमा जुटेको जनाइएको छ ।