
अत्तरिया – कंचनपुरको कृष्णपुर नगरपालिकाले ६ वटा सरकारी विद्यालयहरुलाई बस हस्तान्तरण गरेको छ ।
शिक्षाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले ६ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी बोक्ने बस हस्तान्तरण गरेको हो ।

नगरपालिकाले ५० सिट क्षमताका, २०२६ मोडल तथा ३२०० सीसीका बस खरिद गरी प्रत्येक विद्यालयलाई एक–एक वटा हस्तान्तरण गरेको हो।
प्रति बस करिब ४५ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरका बस विद्यालयलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
बस प्राप्त गर्ने विद्यालयहरूमा राष्ट्रिय माध्यमिक विद्यालय, उदय माध्यमिक विद्यालय, नन्दा माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय र वीणा माध्यमिक विद्यालय रहेका छन्।
विद्यालय बस सञ्चालनमा आएपछि टाढाबाट विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई सहज हुने नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताएका छन् ।
त्यसका साथै विद्यालयमा विद्यार्थीको पहुँच र नियमित उपस्थितिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।















