
धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना सांसदलाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी सांसदका अनुसार दुवै जनालाई ४८ घण्टाभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।

यस्तै, पाठकको सामाजिक विकास समितिका सभापतिको जिम्मेवारी खोसिएको छ । उनलाई सभापतिबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
एमालेले मंगलबारको प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, पाठक र थापा भने बैठकमा सहभागी भएनन् ।
थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले होल्ड गरेका छन् ।















