
अत्तरिया – प्रविधि र प्रयोगात्मक शिक्षालाई विद्यालय तहसम्म पु¥याउने उद्देश्यसहित युवाहरूको नेतृत्वमा सञ्चालित ‘नेक्सु थिन्कलैब’ संस्थाले कैलाली र कञ्चनपुरका विभिन्न विद्यालयहरुमा स्टिम अभियान सञ्चालन गरिरहेको छ।
दुई वर्ष अघि अत्तरियाका जेनजीहरु सुर्य बहादुर थापा र जैनुल अल जफर सिध्दिकिले सञ्चालनमा ल्याएको यस संस्थाले हालसम्म करिब तीन हजार विद्यार्थीलाई स्टिम अभियानमा जोडिसकेको छ।

हालसम्म २५ वटा जती विद्यालयहरुसंग सहकार्य गरिसकेको संस्थाका संस्थापक सुर्य बहादुर थापा बताउँछन् । यस वर्ष थप ७ विद्यालयसँग समझदारी गरी वार्षिक कार्यक्रम अघि बढाएको उनले बताए।
जेनजी उमेर समूहका युवाहरूको टोलीले नेतृत्व गरिरहेको संस्थाले विद्यार्थीलाई छोटो अवधिको कार्यशालामा मात्र सीमित नराखी वर्षभरि चरणबद्ध रूपमा सिकाउने उद्देश्यले आफ्नै पाठ्यक्रम, अध्ययन सामग्री, परियोजना संरचना तथा व्यवहारिक सिकाइको ढाँचा तयार गरेको छ।
कुनै कुरा कण्ठ गर्नेभन्दा बुझेर सिक्ने बानीको विकास गराउन विद्यालयहरुमा स्टिम प्रोजेक्ट आवश्यक रहेको संस्थापक थापाको भनाई छ।
कार्यक्रम तयार गर्दा विद्यार्थीको उमेर, कक्षागत आवश्यकता र सिकाइ क्षमतालाई ध्यानमा राखेर अध्ययन तथा अनुसन्धान गरिएको उनले बताएका छन्। साथै, शिक्षा, विज्ञान, प्रविधि तथा सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिहरूको सुझावसमेत समेटिएको अर्का संस्थापक सिध्दिकिले बताए।
अभियानअन्तर्गत विज्ञान,प्रविधि,इन्जिनियरिङ,कला र गणित अर्थात् स्टिम शिक्षासँगै रोबोटिक्स, इलेक्ट्रोनिक्स, सिर्जनात्मक सोच, टिमवर्क, समस्या समाधान तथा व्यावहारिक सीपलाई जोड दिइएको उनले बताए।
कार्यक्रममा विद्यार्थीलाई तयार परियोजना हेर्ने वा सैद्धान्तिक ज्ञान लिनेमा मात्र सीमित नराखी आफैँ सोच्ने, सामग्री निर्माण गर्ने, परीक्षण गर्ने र समस्या समाधान गर्ने अभ्यासमा विशेष जोड दिइएको छ।
यसले विद्यार्थीमा सिर्जनशीलता, तार्किक क्षमता र प्रविधिप्रतिको रुचि विकास गर्न सहयोग पुग्ने आफूहरुको अपेक्षा रहेको उनले बताए।
सिक्ने, सोच्ने, अन्वेषण गर्ने, नवप्रवर्तन गर्ने र निर्माण गर्ने अवधारणासहित अघि बढेको संस्थाले विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक विज्ञान र प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ।
स्थानीय युवाहरूको पहलबाट सुरु भएको यो अभियान अहिले आफ्नै पाठ्यक्रम, अध्ययन सामग्री र तालिम संरचनासहित विद्यालयसँग दीर्घकालीन सहकार्यतर्फ अघि बढिरहेको छ।
आगामी दिनमा थप विद्यालय र विद्यार्थीलाई अभियानमा समेट्दै प्रयोगात्मक शिक्षा तथा नवप्रवर्तनको पहुँच विस्तार गर्ने संस्थाको योजना रहेको संस्थापक थापाको भनाई छ।
यो प्रयासले विद्यालय तहमा प्रविधिमैत्री तथा प्रयोगात्मक शिक्षाको अभ्यासलाई विस्तार गर्दै विद्यार्थीलाई भविष्यमा आवश्यक पर्ने सीप विकास गर्ने अवसर प्रदान गर्नेमा आफूहरु विश्वस्त रहेको थापा बताउँछन्।















