
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)मा आज बिहान सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्स यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड टोलीहरु हुन्।

जनकपुर र सुदूरपश्चिमको खेलमा समर्थकहरु बाक्लो रुपमा त्रिवि मैदान ओर्लिन्छन्। जारी प्रतियोगितामा जनकपुर अपराजित एक मात्र टोली हो। चार खेलमा आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ। सुरुआती तीन खेलमा जित हासिल गरेको सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ।
आज जनकपुरलाई हराए सुदूरपश्चिम नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ। एक त शीर्ष स्थानको लडाई अनि समर्थकबीचको घम्साघम्सी, यही कारण हो आजको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ।
यो भिडन्त समर्थकहरुको भावनासँग पनि जोडिएको छ । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेख मधेश प्रदेशका हुन् । उता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरि सुदूरपश्चिमकै कञ्चनपुरका हुन्। मुख्य प्रशिक्षक जगट टमाटा, विकेटकिपर विनोद भण्डारीलगायत अधिकांश खेलाडी सुदूरपश्चिमबाटै छन्। त्यसैले पनि समर्थकहरुको मन टोलीसँग जोडिएको हो।
समर्थक यो खेललाई लिएर बेग्र प्रतीक्षामा छन्। खेल बिहान ९ बजे सुरु हुनेछ।













