
अत्तरिया – कैलाली अत्तरियामा ‘चौथो संस्करण’ को ‘सिवाईसी स्पोट्स लिग’ उद्घाटन गरिएको छ । अत्तरियाको सृजनशील युवा क्लबले आयोजना गरेको ‘चौथो संस्करण’ को ‘सिवाईसी स्पोट्स लिग’ प्रतियोगिताको सोमबार एक कार्यक्रमकाबिच गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थीले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । अत्तरिया क्षेत्रकै सबैभन्दा पुरानो रहेको सृजनशील युवा क्लबले यस वर्ष क्रिकेट, फुटबल, र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । गोदावरी नगरपालिका भित्र खेलकुदको प्रवद्र्धन गर्दै पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले विभिन्न खेल प्रतियोगिता आयोजना हुन गरिएकोे सिवाईसी क्लबका अध्यक्ष नरबहादुर राईले बताए ।

क्लबले हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आए पनि कोरोना महामारीका कारण रोकिएको थियो । यस वर्ष भने निरन्तरता दिँदै खेल टिमहरूको नामलाई स्थानीय पर्यटकीय स्थलसँग सम्बन्धित गरी पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागी पुनःनामकरण गरिएको बताए । जस अन्तर्गत सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, सिवाईसी मछेली खोला नामका टिमहरू खेलमा सहभागिता रहेको राईले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष अवस्थीले खेलकुदमार्फत गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई चिनाउने क्लबको प्रयासको प्रशंशा गरे । क्लबको यो कार्यले गोदावरीमा खेल क्षेत्रको प्रवद्र्धनसँगै पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गइरहेको खेलहरुमा क्रिकेट खेल गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडा सामुदायीक बनमा रहेको खेलमैदानमा भईरहेको मैत्रीपूर्ण खेल प्रतिस्पर्धा चैत १ गते समापन गरिने भएको छ । प्रतियोगिताका विजयीले २ लाख पुरस्कार पाउनेछन् ।















