
अत्तरिया – कैलालीको अत्तरिया बसपार्क सहितको क्षेत्रमा तारवार गर्न नेपाली सेनाले टेन्डर आह्वान गरेको छ । सेनाले वैशाख १२ गते नै ३५ दिने सूचना जारी गर्दै ७० लाख १० हजारमा टेन्डर आह्वान गरेको हो । देवीदल गणका गणपति धिरज थापाले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
नेपाली सेनाले बसपार्क क्षेत्रमा दुई वर्ष अघि नै “नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन”भन्दै बोर्ड टाँसेको थियो । अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क, अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाले आफ्नो भएको दाबी करिब तीन वर्षदेखि गर्दै आइरहेको छ ।

नेपाली सेनाले दाबी गर्दै आइरहेका उत्त क्षेत्र तथा संरचनाहरुमाथि हाल गोदावरी नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयले भोगाधिकार गरिरहेका छन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गामा हाल करोडौँका संरचना बनेपछि मात्रै सेनाले खोजी गरेको छ ।
२०६७/६८ सालमा जनस्तरबाट रकम उठाइ संरचना निर्माण गर्दा चुपचाप बसेको नेपाली सेनाले अहिले करोडौँका संरचना बनिसकेपछि दाबी गर्नु अनौठो विषय भएको यस क्षेत्रका सामाजिक अगुवा तथा राजनितिक नेतृत्वहरु बताउँदै आएका छन् ।
सम्बन्धित समाचार















