
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ।
गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी)को सर्पदंशका कारण मृत्यु भएपछि छाउगोठ भत्काउन सुरु गरिएको हो।

वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए।
उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन्।
छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले जानकारी दिए। समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताए।
रासस















