
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ९ बल्मीकी कञ्चन खड्का अचेल हरेक अपराहृ साढे चार बजेपछि साइपाल युवा क्लबको खेल मैदानमा भेटिन्छिन् । विगत तीन वर्षदेखि फुटबल खेल्न थालेकी उनी यो मैदानमा ६ महिनादेखि निरन्तर प्रशिक्षण लिइरहेकी छिन् । सैपाल युवा क्लबले यहि खेल मैदानमा, यसै गरी खेल्न सिकाएकी मिना देउवा अहिले राष्ट्रिय टिममा रहेर देश विदेशमा खेल्दै गरेको देख्दा कञ्चनलाई गर्व लाग्छ ।
“मिना दिदीले यहिँ खेल्नुहुन्थ्यो, अहिले विदेशमा गएर समेत खेल्नुहुन्छ मिहिनेत गरे सफल भइँदो रैछ भन्ने लाग्छ, सोही ठाउँको समैजी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कन्चनले भनिन् ।” कञ्चनलाई राष्ट्रिय टिमबाट खेल्ने ठुलो धोको छ । मिनाले खेलेका हरेक खेलहरु कञ्चन लगायत साथीहरुले टिभिमा नछुटाई हेर्छन । तीन वर्षअघि यहि खेल मैदानमा पहिलो पटक फुटबलको स्र्पस गरेकी कञ्चन सुदूरपश्चिम प्रदेश स्तरीय यू– १७ मा छनोट भएकी खेलाडी हुन् । फुटबल खेल्नकै लागि उनी दुईपटक काठमाडौं र एक पटक हेटौँडासम्म पुगिसकेकी छिन् ।


जर्सी र बुटमा सजिएर दिन नबिराई क्लबको मैदान धाउने अर्की किशोरी हुन् गोदावरी- ८ की परिषा चौधरी । कञ्चनजस्तै परिषालाई पनि कुशल खेलाडी बन्ने इच्छा छ । गोदावरी- ८ कै दुर्गा भवानी माविमा कक्षा ९ मा अध्ययनरत उनलाई पनि खेलाडी बन्ने सपनाले नै खेल मैदानसम्म पुर्याउँछ । विद्यालयबाट फर्किसकेपछि खेल मैदानमा फुटबलसँग रमाउने उनलाई गाँउकै दिदी मिनाले पाएको चर्चाले झन् हौस्यायो । त्यसैले अचेल मैदानमा उनी अधिक मिहिनेत गर्छीन् । परिषा पनि सुदूरपश्चिम प्रदेश स्तरीय यू– १७ मा छनोट भएकी खेलाडी हुन् । गोदावरी- ९ बल्मीकी पूर्णिमा खड्का पनि फुटबल गुडाउन अब्बल बन्दै गइरहेकी छिन् ।
कति छिटो ४ बज्ला र मैदानमा जाउँला जस्तो लाग्छ पूर्णिमालाई । हिजोआज वर्षाको समय पनि भएकोले दिउँसोको समयमा त पानी नै नपरी दिए हुन्थ्योजस्तो लाग्छ पूर्णिमालाई । “खेलले एकातिर शारिरक रुपमा स्थस्थ बनाउँछ भने अर्कोतिर सुनौलो भविष्य समेत निर्माण गर्न सकिन्छ, पसिनै पसिना भएर खेल मैदानको छेउमा आएर उभिएकी पूर्णिमा भन्छिन् ।” राष्ट्रिय खेलाडी बन्न नसकेको खण्डमा सेना, प्रहरीमा जागिर खाने र त्यहीँबाट फुटबल खेल्ने पूर्णिमाको सपना छ ।

नछुटाई फुटबलको बलसँग लडिरहेका यी तीनै किशोरीको एउटा साझा समस्या छ । “छरछिमेकले किन छोरीलाई यसरी फुटबल खेल्न पठाइरहेको?” भनेर यिनिहरुको परिवारलाई बेला बेलामा भड्काइदिन्छन् । छिमेकीले यसरी कुरा लगाइदिँदा “रुचि छ भने खेल” भन्ने आमाबुवा समेत “फलानाले त यस्तो भन्दैथियो अब खेल्न जान पर्दैन” भन्छन् । त्यसैले यिनिहरु भन्छन् “ अवसर पाए छोरीले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा कमाउने गरि काम गर्न सक्छन् नि, किन बुझ्दैन होला हाम्रो समाज? छोरी भएर पनि कति छोटो लुगा लगाएको? कहाँ यसरी खेल्न हिँडेको, राती पो आउँछ्यौ त ? लगायतका प्रश्नले हैरान गर्छन् ।, त्यसैले खेल्न मात्र होइन हामीहरु समाज परिवर्तन गर्न पनि हिँडेका हौं ।”
त्यसैले फुटबल उनीहरुका लागि खेल मात्रै होईन्, उनीहरुको आवाज पनि हो । यी तीनै जस्ता अरु ३७ जना किशोरीहरु भविष्यको सपना बुनेर यो मैदानमा धाइरहेका छन् । खेल मैदानमा कहिलेकाँहि खेल सामग्रीहरु अभाव हुन्छ । त्यस बेला यिनिहरु सरकार सम्झिन्छन् । कञ्चनले भनिन् “हामीलाई खेल सामग्रीहरु प्राय अभाव भइरहेको हुन्छ । हाम्रो क्लबसंग पैसा हुँदैन कहिले कसैलाई, कहिले कसैलाई आग्रह गरेर अध्यक्ष लगायत दाईहरुले माग्नुहुन्छ, त्यसैले सरकारले हामीलाई खेल सामग्रीहरु संधै उपलब्ध गराइदिए हुन्थ्यो ।”

कञ्चन, परिषा र पूर्णिमाजस्ता ४० जना किशोरीहरु यहाँ नियमित फुटबल प्रशिक्षण गर्दै आइरहेका छन् । गोदावरी ८ स्थित स्याउलेबजारबाट करिब १ किलोमिटर उत्तरतर्फ खुटिया दिपायल सडकखडण्डमा पर्ने यो खेल मैदान विगत ६ महिनादेखि यिनै किशोरीहरुलाई भविष्यको मार्ग देखाइरहेको छ । सैपाल युवा क्लबको यो पहल केवल फुटबलमा मात्रै सीमित छैन । यो पहल यि किशोरीहरूलाई सामाजिक दबाब चिर्दै आत्मनिर्भरता र आत्मविश्वासको यात्रामा डोहोर्याउने प्रयास पनि हो ।
सैपाल युवा क्लबले गत फाल्गुन २४ गते गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमको आयोजना गरि महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण परियोजना सुरु गरेको थियो । जस्मा अहिले ४० जना किशोरी र ३२ जना किशोर तथा बालकहरु गरि ७२ जनाले प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई प्रशिक्षक करन बोगटी र शिवशक्ति युवा क्लबका उपाध्यक्ष राजेश साउँदले प्रशिक्षण दिइरहेका छन् । किशोरीहरु साइपाल युवा क्लबको खेल मैदानमा सिक्छन् भने किशोर तथा बालकहरु करिब २ किलोमिटरको दुरीमा रहेको शिवशक्ति युवा क्लबको खेल मैदानमा प्रशिक्षण लिन्छन् ।
अब्बल खेलाडी उत्पादन गर्ने परियोजनाको उदेश्य
महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण अब्बल खेलाडी उत्पादन गर्ने परियोजनाको उदेश्य रहेको सैपाल युवा क्लबका अध्यक्ष रमेश बोगटी बताउँछन् । पछिल्लो समय बालबालिका तथा किशोर किशोरीहरुमा मोबाइलको लत मात्रै नभई लागूऔषधमा फस्ने क्रम समेत बढेको हुँदा खेलमा व्यस्त राख्न शून्य आथिर्क अवस्थाका बाबजुत आफूहरुले यो प्रयास सुरु गरेको बोगटीको भनाई छ । यस परियोजनाले किशोर किशोरीहरु लागूऔषधमा फस्नेक्रमलाई पनि न्यूनिकरण गर्ने उनको विशवास छ ।

स्थानीय स्तरमा सुरुवात गरिएको यो परियोजनाले किशोरीहरुलाई खेलकुदमा आकर्षित गर्नुका साथै महिला सशक्तीकरणलाई समेत फुटबलमार्फत् अघि बढाउने अध्यक्ष बोगटीको भनाई छ । “हामीसंग आथिर्क स्रोत केहि पनि छैन, प्रशिक्षकहरुलाई पनि केहि रकम त दिनुपर्छ जुन व्यवस्थापन गर्न निकै गाह्रो छ, नगरपालिका र जिल्ला फुटबल संघका साथै विभिन्न व्यवसायीहरुसंग पनि आग्रह गरिरहेका हुन्छौं, भनेको बेला, आवश्यक परेको बेला सम्बन्धित निकायबाट सहयोग पाउन निकै कठिन हुन्छ, बोगटीले भने ।” क्लबले निशुल्क रुपमा प्रदान गरिएको यो परियोजनामा प्रशिक्षणमा आवश्यक पर्ने जर्सी, फुटबल, कोन,मार्कर लगायतका सामग्रीहरु जिल्ला फुटबल संघ कैलालीले सहयोग गर्दै आइरहेको बोगटीले बताएका छन् ।
मैदानमा जाली र शौचालय आवश्यक
क्लबको खेल मैदानमा जाली नहुँदा संरक्षीत हुन नसकेको बोगटीले दुखेसो पोखे । “दुबोसहितको मैदान भए खेल्न सहज हुन्थ्यो, धुलो उड्दैनथ्यो, बोगटीले भन,े मैदान वरीपरि जाली नहुँदा पशु चौपाया चरेर जान्छन । संरक्षण गर्न समस्या भइरहको छ ।” दिनहुँ खेलाडीहरुको आवतजावत हुने यो खेल मैदानमा शौचालयको पनि अभाव छ ।

गत आथिर्क वर्षमा नगरपालिकाले डेढ लाख रुपियाँ क्लबका लागि छुट्याएको थियो । जसबाट क्लबले मैदानको मुख्य भागमा तारजाली लगाएर शौचालयको सेफ्टी ट्याङ्कीसम्म बनाएको छ । चालु आथिर्क वर्षमा वडा र नगर दुबै ठाउँमा आग्रह गरिएकोमा रातो किताबमा योजना पेश नभएको देख्दा दुख लागेको बोगटीले बताए । फेरि पनि नगरपालिका र वडालाई आग्रह गर्ने उनले बताए । खेल क्षेत्रका योजनाहरुलाई रातो किताबमै समेटेर लगिदिए हुन्थ्यो भन्ने बोगटीलाई लाग्छ ।

प्रशिक्षक बोगटी भन्छन् : यिनिहरुको रुचि देख्दा खुसी लाग्छ
करन बोगटी प्रशिक्षार्थीहरुको फुटबल प्रतिको रुचि देख्दा आफूलाई खुसी लाग्ने प्रशिक्षक करन बोगटी बताउँछन् । “सुरु हुनुभन्दा पहिले नै उनीहरु पुगिसकेका हुन्छन्, समय सकिसक्दा समेत जानै मान्दैनन् बोगटीले भने, पछि राती हुन्छ समयमै जाऊ भनेर जवरजस्ती पठाउनुपर्छ ।” खुट्टामा बुट नै नलगाएर समेत खेल्न आउने गरेको उनले बताए । “ अधिकांश खेलाडीहरु न्यून आय स्तर भएका परिवार बाट नै छन्, जर्सी र अन्य खेल सामग्री त क्लबले दिने गरेको छ तर बुट उनीहरु आफैले किन्नुपर्छ । म बुट किन्न सक्दैन तर फुटबल त खेल्छु नि सर भन्छन,” बोगटी सम्झिन्छन् ।
च्यातिएको ब्यानर मुनि अनमोल सपना

मैदानको एक कुनामा जिर्ण भइसकेको एउटा ब्यानर अड्याइएको छ । सैपाल युवा क्लब २०६७ लेखिएको यो ब्यानरको कुनो च्यातिएको छ । ब्यानर च्यातिएको भए पनि यस क्लबका सदस्यहरुले देखेका सपना भने अनमोल छन् । क्लबका पदाधिकारी र सदस्यहरु चाहन्छन्, यहाँ चारैतिर जाली सहितको हरियो चौर होस्, शौचालय होस्, खानेपानी होस् तर च्यातिएको ब्यानर नै फेर्न नसक्ने अवस्थामा क्लब छ ।
सैपाल मार्फत चम्किएकी मिना
गत असार अन्तिम साता भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध ७–० को सहज जित निकाल्यो । बंगलादेशको बसुन्धार किंग्स एरिनाको प्रशिक्षण मैदानमा सम्पन्न खेलमा नेपाललाई सहज जित दिलाउन मीनाले देउवाले तीन गोल गरिन् । सैपाल युवा क्लब मार्फत चम्कीएकी मिनाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेकी हुन् । यि तिनै मिना हुन् जो तीन वर्ष देखि सैपाल युवा क्लबको खेल मैदानमा फुटबल गुडाउँथिन् । अहिले मिनालाई हेर्दै दर्जनौँ किशोरीहरु फुटबल खेल्न होमिएका छन् । प्रशिक्षण दिएको छोटो समयमै मिना राष्ट्रिय टोलिसम्म पुगपछि सैपाल युवा क्लब थुप्रै मिनाहरु जन्माउने प्रयासमा लागेको छ ।














