गोदावरीमा तातेको ‘राजधानी बहस’ सेलायो

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको स्थाई राजधानीबारे कैलालीको गोदावरीमा चार दिन तातेको बहस सेलाएको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीबाट प्रदेश राजधानी सार्न मुख्यमन्त्रीले गृहकार्य गरिरहेको समाचार बाहिरिएपछि गत साउन ११ गते पहिलो पटक अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालय परिसरमा नागरिक स्तरबाट खुला छलफल आयोजना गरिएको थियो ।

त्यसपछि स्वतन्त्र नागरिक अभियानले कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई बोलाएर बहस गरेको थियो । त्यस्तै साउन १४ गते गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकमा सुदूरपश्चिम प्रदेशका अर्थ विकास राज्यमन्त्री प्रकाश बहादुर बम, प्रदेशसभा सदस्यहरु तुलसी देवकोटा, खेमा देवी विष्ट, जानकी पौडेल कुँवर, पूर्व मन्त्री कृष्णराज सुबेदी, नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकाया, नगर सभापति वीर बहादुर चोखाल, नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश सदस्य गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्य एवम् नगर इन्चार्ज खम्ब बुढा, नगर अध्यक्ष सन्तोष सिंह, नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटी सदस्य मेघराज भट्ट, प्रदेश सदस्य एवम् नगर इन्चार्ज धर्मसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्टलगायतको उपस्थिति रहेको थियो ।

nisarga

बैठकमा सहभागी सबै राजनीतिक दलका अगुवा नेताहरू राजधानी गोदावरीमै स्थायी रूपमा निर्माण गर्नुपर्नेमा एकमत देखिएका थिए । उनीहरुले प्रदेश राजधानी गोदावरीमा कार्यान्वयन गर्न एकजुट भएर सङ्घर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा नगर प्रमुख भट्टले आवश्यक परे सबैको सुझाव बमोजिम अगाडि बढ्ने बताएका थिए । त्यसैको भोलिपल्ट पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी, पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी लगायतले राजधानी तोकिएको क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

उनीहरुले झाडी मात्रै भएको ठाउँलाई भ्रमित गर्ने गरी जङ्गल फडानी गर्नुपर्ने भनेर दुष्प्रचार गरिएको बताएका थिए । त्यसयताका ११ दिनको अवधीमा भने राजधानीसंग सम्बन्धित कुनै पनि कार्यक्रमहरु सञ्चालन भएका छैनन् । स्वतन्त्र नागरिक अभियानका संयोजक धन बहादुर बोगटीले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । नेतृत्वमा रहेका सबैलाई जानकारी गराउने सम्मको कार्य भइसकेको हुँदा उनीहरुले आ आफ्नो क्षेत्रबाट पहल गरिरहेकोमा आफूहरु विश्वस्त रहेको उनले बताए । स्थायी राजधानी यथावत नराखे आफूहरु आन्दोलनमा जाने बोगटीको भनाई छ ।

सर्वदलीय बैठक आह्वान गरेर आवश्यकता अनुसार अगाडि बढ्ने बताएका नगर प्रमुख भट्टले भने त्यसयता कुनै पनि पक्षसँग पनि छलफल नभएको बताएका छन् । राजधानी सार्ने विषय बाहिरिएपछि अत्तरियामा भएका प्राय सबै छलफलमा आफू सहभागी भएकी प्रदेश सभा सदस्य खेमा देवी विष्टले पछिल्ला दिनमा विषय उठान नभएको बताइन् । राजधानी धनगढी वा गोदावरी कहाँ कायम गर्ने भन्ने विषय नेपाली काँग्रेसको हातमा रहेको एमाले नेता गोकर्ण भट्ट बताउँछन् । सुदूरपश्चिमबाट केन्द्रदेखि स्थानीय तहसम्म अहिले कांग्रेसकै नेतृत्व भएकोले पनि उनीहरुले चाहेकै निर्णय कार्यान्वयन हुने उनको भनाई छ ।