
धनगढी – कैलाली कारागारभित्र कैदीबन्दीबीच झडपको घटनापछि अवस्था अनियन्त्रित भएर कैदीबन्दीको अवस्थाबारेसमेत कुनै जानकारी लिन नसकेको कारागार प्रशासन र सुरक्षा निकायले घटनाको करिब ४२ घन्टापछि सुरक्षाकर्मी बन्दी गृहभित्र प्रवेश गरेर जानकारी लिएका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो संख्या र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोली आइतबार साँझ बन्दी गृहभित्र प्रवेश गरेर उनीहरुको अवस्था अनुगमन गरेको हो । यसअघि कुनै पनि निकायलाई कैदीबन्दीहरुले भित्र प्रवेश गर्न दिएका थिएनन् ।

अनुगमनबाट फर्केका राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक प्रकाशदत्त भट्टले बन्दीगृह भित्रका कैदीबन्दीको अवस्था सामान्य रहेको बताएका छन् । उनीहरुले घटनाको तेस्रो दिन कैदीबन्दीहरुको ‘हेड काउन्ट’ गरेका छन् । सामान्य अवस्थामा हरेक साँझ कारागार प्रशासनले कैदीबन्दीहरुको गणना गर्नुपर्ने नियम छ ।
‘घटना भएको दिन कूल सात सय कैदीबन्दी रहेकोमा अहिले ३ सय ९८ जना ‘ए’ ब्लकमा, एक सय ९६ जना ‘बी’ ब्लकमा र महिला ब्लकमा ५७ जना रहेको पाइयो,’ निर्देशक भट्टले भने, ‘४८ जना घाइतेको अस्पतालमा उपचाररत छन् ।’ एक जनाको भने शनिबारै मृत्यु भइसकेको छ ।















