
अत्तरिया – कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ । लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा हत्या मृत्यु भएको थियो ।कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि सांघातिक आक्रमण गरेका थिए ।
राति सेती प्रादेशिक अस्पताल पु¥याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौधरीको शव परिवारले बुझन् मानेका छैनन् ।मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निस्शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

मृतकका भाइ विजय चौधरीले दाजुको मृत्युपछि टुहुरो बनेकी छोरीको निस्शुुल्क शिक्षा दिनुपर्ने र हत्यामा संलग्नको पहिचान गरी शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।
‘प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको सुुनेको छु । तर हामीलाई पैसा भन्दा पनि न्याय चाहिएको छ,’ विजयले भने, ‘उहाँको मृत्युपछि टुहुरो बनेकी छोरीलाई सरकारले निस्शुल्क पढाउनुपर्छ भन्ने हाम्रो माग छ । कारागारभित्र निर्मम रुपमा दाजुको हत्या गर्नेको पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल समेत गरेका छन् । सो क्रममा सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् ।















