किसान कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रवार संस्थाका अध्यक्ष राधा विष्ट कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्य राज जोशी प्रमुख अतिथि रहेका थिए ।

nisarga

कार्यक्रममा बोल्दै जोशीले सहकारीलाई सफल बनाउन सञ्चालक समिति, कर्मचारी र शेयर सदस्य तीनै पक्षको हात रहने बताए ।

सहकारीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै बिना सेवा शुल्क सहज तरिकाले ऋण प्रदान गर्दै आइरहेको भन्दै सहकारीहरूले नागरिकको जनजीवन उकास्नमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

कृषि सहकारीहरूले कृषिलाई पहिलो प्राथमिकता दिँदै अर्ग्यानिक मल उत्पादनमा समेत जोड दिनुपर्ने जोशीको भनाई थियो ।

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष राधा विष्ट कुँवरले गरेकी थिइन् भने संस्थाको आयव्यय संस्थाका व्यवस्थापक सुना रोकायाले प्रस्तुत गरेकी थिइन् ।

प्रबन्धक रोकायाले संस्थाका शेयर सदस्यहरूलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्दै अर्ग्यानिक खेती गरी विषाद मुक्त बनाई आर्थिक अवस्था सुधारमा जोड दिँदै आइरहेको बताइन् ।

२०७२ सालमा २७ जना शेयर सदस्यबाट आएको किसान कृषि सहकारीमा हाल १ हजार ९४० जना शेयर सदस्यहरू रहेका छन् ।