
अत्तरिया – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा सञ्चालनमा आएको इमर्जेन्सी सेवाको आज औपचारिक रुपमा उद्घाटन गर्ने भएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विरोध जनाएको छ ।
समितिले आज विश्वविद्यालय परिसरमा भेला भएर विरोध जनाएको हो ।

मन्त्री पौडेल डोटी र डडेल्धुरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आउने क्रममा दिउँसो गेटा अस्पताल पुगेर इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ ।
तर समितिको विरोध पछि उक्त कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ । गत जेठ ११ गतेदेखि इमर्जेन्सी सेवा सुरु गरेको गेटा अस्पतालमा हाल १० वटा बेडसहितका सुविधा उपलब्ध छन् ।
इमर्जेन्सी सेवाको सुरुवातसँगै आकस्मिक उपचारमा सहजता आउने अपेक्षा अस्पतालले गरेको छ ।
विश्व विद्यालयको ऐन आईसकेको अवस्थामा स्वास्थ्य मन्त्रीले दुई महिना अगाडि नै संचालनमा आइसकेको इमर्जेन्सी सेवाको उद्घाटन गरेर नाटक मञ्चन नगर्न समितिलेआग्रह गरेको छ ।
उद्घाटन कार्यक्रम रद्द गरे कुनै बाधा नपुर्याउने समितिको भनाई छ । “मन्त्रीले उद्घाटन कार्यक्रम रद्द गरेर अनुगमन गर्नुहुन्छ भने हामी कुनै बाधा गर्दैनौ संघर्ष समितिका संयोजक लोक राज पाण्डे ‘आगो’ ले भने । “
अर्बौका निर्माणका संरचना अलपत्रमा पारेर अहिले आफ्नो स्वार्थ पुरा गर्ने काम नगर्न संघर्ष समितिले चेतावनीसमेत दिएको छ ।















