
दोधारा चाँदनी – कञ्चनपुर र डडेल्धुराको भित्री मधेश जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णता पाएको छैन।

हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएको छ । सडक निर्माणका लागि पछिल्लो पाचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि सडक निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ। गत आर्थिक वर्षमा सडक निर्माणको काम नहुँदा एक करोड बजेट फ्रिज भएको थियो ।
कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि हालसम्म पाँच पटक म्याद थप गरिएको भए पनि सडक निर्माण सम्पन्न हुन नसकेको गरिएको जानकारी दिए। ‘अहिलेसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ’,उनले भने, ‘सात किमी सडक निर्माणको काम बाँकि नै छ, निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।’ उनका अनुसार निर्माण व्यवसायिले दुई करोड ९० लाख भुक्तानी पाउन मात्रै बाँकी छ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ । ‘पञ्चायतकालमा शुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन’, स्थानीय केशव बोहराले भने, ‘यो सडक निर्माण नहुँदा आमीले धेरै दुःख पाएका छौँ, हिउँदमा धुलाम्य हुन्छ वर्षादमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।’
३१ किमी सडक निर्माण नहुँदा यहाँका स्थानीय १५० किमी घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो उनले गरे। डडेल्धुराको भित्री मधेशलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा छ।















