
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा आयोजित गौरा मेलाको समापन गरिएको छ । भदौ १६ गतेदेखी सुरु भएको सुदुरपस्चिम गौरा मेलाको आज एक समारोहका बिच समापन गरिएको हो।
मन्दिर व्यवस्थापन समितिको गौरा पर्व मेला समितिले आयोजना गरेको गौरा पर्व मेलाको समापन कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डाक्टर टी एन जोशीको प्रमुख अतिथी रहेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप कुलपति जोशीले स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिर समितिद्वारा आयोजित बृहत् गौरा मेलाले सुदूरपश्चिमको मौलिक संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्याएको बताए।

उनले गौरा र डेउडाको नाम उच्चारण हुने बित्तिकै सुदूरपश्चिमको पहिचान झल्किने उल्लेख गर्दै, यस्ता धार्मिक तथा सांस्कृतिक परम्परा जोगाएर राख्ने समाजको प्रयास प्रशंसनीय रहेको टिप्पणी गरे। गौरा मेला समापन कार्यक्रममा विशिष्ट अतिथि रहेका गोदावरी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीले धर्म र संस्कृति देशको गहना मात्र नभई पहिचान समेत भएको बताए।
उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्दै यस्ता परम्परालाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे। चौधरीले सभ्य र भव्य तरिकाले गौरा पर्वलाई सफलतापूर्वक सम्पन्न गर्दै आएको मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्य निरन्तर गर्न आग्रह गरे ।
आयोजित मेलामा अवलोकन गर्न आएका दर्शकले विशेष देउडा खेल मात्र नभई सुदूरपश्चिमको मौलिक संस्कृति, भेषभूषा र परम्परागत अभ्यासको अनुभव समेत लिएको मेला संयोजक लक्ष्मी देवी विनाडीले बताईन्। मेला अवधिभरि परम्परालाई निरन्तरता दिन स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका समेत उनले बताईन्।
उनले विगत १६ बर्ष देखी गौरा पर्व लगायत सुदुरपस्चिम प्रदेशको संस्कृति भेषभुषा जगेर्ना गर्दै आइरहेको बताउँदै अबको पिडिहरुले पनि सांस्कृतिक जगेर्ना गर्न अनिवार्य रहेको कारण संस्कृति तथा भेषभुषा झल्काउने कार्यक्रम आयोजना गरिएको बताईन।
मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित गौरा मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले डेउडा खेल प्रस्तुति गेरका थिए। आयोजित मेलाको मुख्य प्रायोजक सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान रहेको थियो। सह प्रायोजक गोदावरी नगरपालिका र प्रायोजक गोदावरी नगरपालिका वडा नं ८ कार्यालय रहेको थियो।
मेलामा शिव शक्ति युवा क्लब , सैपाल युवा क्लब, सूर्योदय सामुदायीक वन , समैजी सामुदायीक वन , मातृभूमि सामुदायीक वन ,साना किसान कृषि सहकारी संस्था लि श्रीपुर र जयलक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको सहयोग रहेको थियो।















