थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा

Image
maya metro

धनगढी – वीरताको प्रतीक थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ। यस्ता लोपोन्मुख नाच संरक्षणको प्रयास राज्यस्तरबाटै नभएपछि यो मौलिक नाच लोप हुने खतरा बढेको हो। विगतमा दसैँ, दीपावलीताका विभिन्न गाउँमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ। पहिले मुङ्ग्रहवा नाच गरेका पुस्ता अहिले बुढेसकालमा पुगिसकेका छन्। पिठ्युँपछाडि मयूरको प्वाँख बाँधी काठको मुङ्ग्रो लिएर देखाउने नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन।

मुङ्ग्रहवा नाच संरक्षणप्रति राज्यको ध्यान नगएकाले यो नाच लोप हुने खतरा बढ्दै गएको कैलारी गाउँपालिका–६, खरुवाखेराका मुङ्ग्रहवा नाचका अगुवा मन्दरिया भागिराम चौधरीले दुःखेसो गरे। ‘हामीले संरक्षणका लागि आफ्नोतर्फबाट धेरै कोसिस गर्दै आएको छौँ,’ उनले थप्नुभयो, ‘तर राज्यले चासो नदिएका कारण निराश छौं। एकदिन यो नाच लोप हुने चिन्ता छ।’

nisarga

कैलालीमा मुङ्ग्रहवा नाच खरुवाखेराको भागिरामको टिमले मात्रै नियमित रूपमा देखाउँदै आएको छ। चौधरीसहित उनका सहपाठीले २०४२ सालदेखि यो नाच देखाउँदै आएका छन् तर राज्यबाट हौसला थप्ने काम नभएपछि अब निराशा छाएको उनको भनाइ छ।

मुङ्ग्रहवा नाच पुरुष र महिला दुवै मिलेर नाच्ने गरेका छन्। पछाडि नाचिने महिलालाई द्रौपदी भन्ने गरिएको छ। विगतमा द्रौपदीको भूमिका पनि पुरुषले नै महिलाको वेशभूषा लगाएर निर्वाह गर्ने गरेका थिए तर अचेल यो भूमिकामा महिला नै रहने गरेका जनाइएको छ। थारू समुदायको यो एकदम आकर्षक नाच लोपको सँघारमा पुग्नु चिन्ताको विषय रहेको कैलारी गाउँपालिका–६ कै कुलराज चौधरीले बताए। उनले यो नृत्य संरक्षणका लागि सबै जुर्मुराउन आवश्यक रहेको औँल्याए।

स्थानीयका अनुसार महाभारतको कथासँग सम्बन्धित थारू समुदायको मुङ्ग्रहवा नाचलाई वीरताको प्रतीकका रूपमा लिने गरिन्छ। थारू युवाले आफ्नो पौरख र वीरता देखाउनका लागि यो नाच नाच्ने गरेको बताइन्छ। स्थानीय किंवदन्ती अनुसार पाँच पाण्डव वनवास गएका बेला उनीहरूका पत्नी द्रौपदीलाई किचक (राजा विराट्का मन्त्री) ले गलत नजर लगाएका थिए।

पत्नीलाई गलत नजरले हेरेको रिसमा पाण्डवका महिला भाइ भीमले गदा (मुङ्ग्रो) ले हानेर किचकलाई मारेका थिए । त्यस्तै भीमले कौरव पक्षका शक्तिशाली दुर्योधनको वध पनि गदाले हिर्काएर गरेका थिए। भीमले आफ्नो वीरता देखाएका कारण त्यसको सम्झनामा मुङ्ग्रो लिएर मुङ्ग्रहवा नाच देखाइने गरेको जनाइएको छ।