
अत्तरिया – कैलालीको गौरिगंगा नगरपालिका–६ बनबेहडामा रहेको ब्राह्रवन वन साझेदारी वन उपभोक्ता समूहको आठौं वार्षीक साधारणसभा सम्पन्न भएको छ । समूहले आज (शनिबार) अत्तरियामा साधारण सभा सम्पन्न गरेको हो । वनका अध्यक्ष वीरबहादुर चोखालको सभा अध्यक्षतामा आयोजित सभाको सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला प्रमुख अतिथि रहेका थिए ।
सभामा बोल्दै सचिव कोइरालाले वनको नियमावली अनुसार साझेदारी वन र सामुदायिक वन फरक रहेको बताउँदै सरकारको उपभोक्ता समूहको र स्थानीय तहबीच सहकार्य गरेर त्रिपक्षीय साझेदारीमा साझेदारी वन अगाडि बढेको अवधारणा व्यक्त गरे । उनले वन उपयोग भन्दा संरक्षणमा बढी जिम्मेवारी पूर्वक अघि बढ्नुपर्नेमा जोड दिए । उपभोक्ताहरूलाई काठ वितरण आवश्यकता अनुसार मात्र गर्नुपर्ने भन्दै उनले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

सचिव कोइरालाले उपभोक्ता समिति, पदाधिकारी र स्थानीय समुदाय सबैले वन संरक्षणमा सकारात्मक दृष्टिकोण र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । यस्तै सभामा साझेदारी वनका अध्यक्ष चोखालले वनको विधान अनुसार साझेदारी वनलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै वन संरक्षणमा सधैं तत्पर रही उपभोक्ताहरूका माग पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । साधारण सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी वर्षका कार्यक्रम र बजेट प्रस्तावबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनमा उल्लेख गरिएको विवरण अनुसार वनले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न शीर्षकहरुमा २ करोड ४१ लाख ५० हजार २ सय ४२ रुपैयाँ बराबरको कारोबार गरेको छ । यस्तै आर्थिक वर्ष २०८२/०८३ मा जम्मा अनुमानित आय रकम १६ करोड ८५ लाख ८७ हजार १ सय ९५ रुपैयाँ र वार्षिक कार्यक्रम अनुमानित खर्च विवरणमा विभिन्न शिर्षकहरुमा १२ करोड ८३ लाख २६ हजार ३ सय २ रुपैयाँ रहेको छ । सभामा विभिन्न क्षेत्रका जनप्रतिनिधि, वन प्रतिनिधि, लगायत उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।















