
अत्तरिया – कैलालीको तेघरीमा बसको ठक्करबाट मृत्यु भएकी वृद्धाको शव उठाएको छ । मृतकका परिवारलाई क्षतिपुर्ती दिने र चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमतिपछि आफन्तले शव उठाएका हुन् ।
शव उठाएपछि दिनभर ठप्प भएको भिमदत्त राजमार्ग सुचारु भएको छ । दुईपक्षबिच सहमति भएपछि अपराह्र चार बजेदेखि राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुधबार (आज) बिहान ६ बजेको समयमा गोदावरी नगरपालिका वडा नम्बर २ स्थित तेघरी ब्यारेक नजिक दिपायलबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको रात्री बसको ठक्करबाट स्थानीय ८२ वर्षीय दिलमाया शिरिषको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि मृतकका आफन्तले शव सडकमै राखेर दिनभर राजमार्ग अवरुद्ध गरेका थिए । ठक्कर दिने बससहित चालक गोदावरी- १ बस्ने ५२ वर्षीय टेकराज भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । दिनभर राजमार्ग ठप्प हुँदा यात्रुहरुले सास्ती खेपेका थिए ।















