सुदूरपश्चिमको पर्यटन प्रर्वद्धनात्मक अत्तरियामा अन्तरक्रिया

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्वद्धनात्मक बृहत अन्तरक्रिया कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजना तथा होटल व्यवसायी संघ सुदूरपश्चिम र गोदावरी होटल व्यवसायी संघको सहयोगमा शनीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

महासंघका अध्यक्ष दिनेश कुमार चुकेको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सचिव दीर्घनारायण कोइराला प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्र देव भट्ट विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमका सहभागिहरुले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन सरकार पक्ष पनि गम्भिर बन्नु पर्नेमा जोड दिए ।

nisarga

चेम्बर अफ कर्मसका प्रदेश अध्यक्ष विनोद मल्लले पर्यटकको सहजीकरणका लागि सरकारले गम्भीरताका साथ काम गर्न जरुरी रहेको बताए । पर्यटकिय क्षेत्रको प्रवद्र्धन, विकास र प्रचारप्रसारमा सबैको सहभागीता र सहयोग अपरीहार्य रहेको उनले बताए । उनले पर्यटकीय क्षेत्रको पुर्वाधार विकाससंगै पर्यटकहरूको लागी आवश्यक पर्ने सबै प्रकारको सुविधाको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।

मल्लले अब एआइको युग सुरु भइसकेको अवस्थामा होटल व्यवसायी र पर्यटन व्यवसायीहरु पनि प्रविधिमैत्री बन्नुपर्ने बताए । त्यस्तै महासंघकी केन्द्रिय उपाध्यक्ष धनादेवी चोखालले होटल व्यवसाय र पर्यटन एक अर्काका परिपुरक भएको बताइन् । उनले पर्यटन प्रर्वद्धनका लागि होटल व्यवसायीहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने उनले बताइन् ।

महासंघका सल्लाहकार परमानन्द भण्डारीले प्रदेश सरकारले गर्ने सिपमूलक कार्यक्रमहरु उपलब्धीमूलक हुनुपर्ने बताए । उनले सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना रहेको हुँदा सरकारले नै आवश्यक कदम चाल्नुपर्ने बताए । उनले देशमा बेरोजगारी बढ्दो भए पनि दक्ष जनशक्ति पाउन भने मुस्किल रहेको बताए ।

काममा खटिएका जनशक्तिलाई प्रदान गर्ने ज्यालामा कन्जुसाई नगर्न उनले होटल व्यवसायीहरुलाई आग्रह गरे । त्यस्तै होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले सरकारमार्फत गरेका कार्यक्रमको भुक्तानी लिन समस्या झेल्नुपरेको बताए । उनले सबै कागजात तयार गर्दा पनि कर्मचारीहरुले अनेक बाहना बनाएर दुख दिने गरेको गुनासो गरे । होटल व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकरात्मक हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य नरेन्द्र देव भट्टले पर्यटनको विकासका लागि नेपाल पर्यटन बोर्डले कुनै कसर बाँकी नराख्ने बताए । उनले यसै आथिर्क वर्षमा सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना गर्ने गरी कार्य भइरहेको बताए । सुदूरपश्चिमका हिमाल, विभिन्न शक्तिपिठहरुको उचित प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सबै क्षेत्रको पहल आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सचिव कोइरालाले यहाँ भएका पर्यटकिय स्थलहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको उनले बताए । मन्दिरमा मात्रै बजेट हालेको भन्दै विरोध भएको सुनिएको भन्दै उनले जनताको माग बमोजिम मन्त्रालयले बजेट विनियोजन गरेको बताए । कोइरालाले बडिमालिकाजस्ता शक्तिपिठहरुमा जान समेत निश्चित समय निर्धारण गरिनु दुखद भएको बताए ।

उनले खाना र बस्नको लागि उचित व्यवस्थापन गर्न सके पर्यटन प्रर्वद्धन गर्न सहज हुने भन्दै सहकार्य र लगानीका लागि निजि क्षेत्र पनि अगाडि बढ्नुपर्ने बताए । भौतिक विकास मात्रै नभइ जनताको चेतनाको स्तर पनि वृद्धी हुनु आवश्यक रहेको प्रदेश सचिव कोइरालाले बताए । घुम्न आउने पर्यटकहरुलाई गर्ने व्यवहारले पर्यटकको आगमनमा फरक पार्ने उनले बताए । प्रदेशको पर्यटन प्रर्वद्धनका लागि मन्त्रालयले योजनावद्धरुपमा काम गरिरहेको भन्दै कोइरालाले जेनजी आन्दोलनपछि कर्मचारीको मनोबल पनि टुटेको बताए ।

देशको अर्थतन्त्र चलायमान बनाउन होटल व्यवसायीहरुले महत्वपूर्ण निर्वाह गरिरहेको बताउँदै उनले रातदिन नभनि खट्नुपर्ने यो व्यवसायका समस्या समाधान गर्न राज्यपक्ष गम्भीर बन्नुपर्ने बताए । पर्यटन प्रर्वद्धनका लागि निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।

महासंघका पर्यटन सचिव कलम बमको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका महासचिव शंकर भण्डारीले गरेका थिए । कार्यक्रममा यस क्षेत्रका होटल व्यवसायीहरुसंगै, गोदावरी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिसंगै सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्धनको उदेश्यसहित कात्र्तिक २९ र ३० गते प्रदेशका विभिन्न जिल्लाहरुमा गरिने अन्तरक्रिया कार्यक्रमको संयोजकको रुपमा केन्द्रिय उपाध्यक्ष चोखाल रहेकी छिन् ।