
अत्तरिया – अपाङ्गता भएका व्यक्तिहरुका लागि शैक्षिक सहयोग परियोजना कैलालीको गोदावरी नगरपालिका लाई हस्तान्तरण गरिएको छ । आइतबार परियोजनाका कार्यकारी निर्देशक सुर्य बहादुर थापाले गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकायालाई परिलक्षित संस्थाको उक्त परियोजना हस्तान्तरण गरेका हुन् ।
परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले परिलक्षित संस्थाले गोदावरी नगरपालिकाको शैक्षिक क्षेत्रमा ठुलो सहयोग गर्दै आएको बताइन् । उनले परिलक्षितले गोदावरी नगरपालिकालाई हस्तान्तरण गर्दा आफूहरुले ठुलो दायित्व महसुस गरेको बताइन् । “परिलक्षितले अपाङ्गता भएका थुप्रै बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको थियो जसका कारण नगरपालिकालाई समेत सहज भइरहेको थियो, उनले भनिन् अब उहाँहरुले परियोजना हामीलाई हस्तान्तरण गर्नुभयो अब त्यो सबै जिम्मेवारी हाम्रो काँधमा आएको छ, के कसरी अगाडि बढ्ने भन्नेबारे नगरपालिकाले योजना बनाउनु जरुरी छ ।”

कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र भट्टले परिलक्षितले आफ्नो कार्य अवधीभर अनुशासित ढंगले उत्कृष्ट कार्य गरेको बताए । महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले परिलक्षितले नगर भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जनका साथै शैक्षिक क्षेत्रमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् । राज्यको जिम्मेवारीमा बसेर लामो समयसम्म संस्थाले सहयोग गरेको उनले बताइन् ।

त्यस्तै शिक्षा शाखा प्रमुख विष्णुराज अवस्थीले नगरपालिकाको शैक्षिक गुणस्तर सुधारमा परिलक्षितको महत्वपूण भूमिका रहेको बताए । ठुलो योगदान गरिरहेको संस्थाले परियोजना नगरपालिकालाई हस्तान्तरण गरेर गएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे अन्योल सिर्जना भएको अवस्थीले बताए । कक्षा ८ देखि परिलक्षितबाट छात्रवृत्ती पाएर हाल स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी देवी पाठकले परिलक्षितकै कारण आफ्नो भविष्य उज्योलो भएको बताइन् ।
“पारिवारिक अवस्था कमजोर भएका कारण अध्ययन गर्न सक्ने वातावरण नै थिएन्, उनले भनिन् परिलक्षितका कारण म अहिले स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी छु । उहाँहरुले मेरो स्नातक तहको पढाई पुरा हुन्जेलसम्म छात्रवृत्ती उपलब्ध गराइदिए आभारी हुने थिए ।” त्यस्तै परिलक्षितकै छात्रवृक्तिमा स्नातक तहकै अध्ययन गरिरहेका लाल बहादुर खत्रीले पनि स्नातक तहको पढाई सम्पन्न हुने समयसम्म संस्थाले सहयोग गरिदिनुपर्ने बताए ।

छात्रवृत्तिकै आसामा आफूले स्नातक तह भर्ना गरेको भन्दै उनले बिचैमा छोडे समय र लगानी दुवै खेर जाने अवस्था आउने दुखेसो गरे । परिलक्षित संस्थाकी फिल्ड कार्यक्रम अधिकृत पुष्पा रोकायाले संस्थाले गोदावरी नगरपालिकाभित्रका अपाङ्गता भएका १५ जना बालबालिकालाई छात्रवृत्ती प्रदान गर्दै आएको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जनसंग जोड्न विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै सामग्रीहरु समेत सहयोग गर्ने गरेको बताइन् ।
उनले किराना पसल सहयोग अन्तर्गत ८ जना अपाङ्गता भएका व्यक्तिले पसल संचालन गरि आफ्नो र परिवारको पालनपोषण गरिरहेको बताइन् । त्यस्तै ६ जना अपाङ्गता भएका व्यक्तिले तरकारी खेति सम्बन्धि तालिम तथा कृषि सामग्री प्राप्त गरी आय आर्जन गरिरहको उनले बताइन् । कार्यगतसिकाई तालिम (ओजेटि) अन्तर्गत ५जना अपाङ्गता भएका व्यक्तिहरुले कार्यालयमा कसरि कार्य गर्ने बारेमा सिकिरहेको रोकायाले बताइन् ।
अपाङ्गता भएका ६ जनाले कम्प्युटर तालिम कक्षा प्राप्त गरिरहेको भन्दै उनले ५ जना अपाङ्गता भएका व्यक्तिले सिलाईकटाई तालिम तथा मेशिन प्राप्त गरी स्वरोजगार बनेको बताइन् । त्यस्तै ८ जनाले वारिष्ठा, २ जनाले मोबाइल मर्मत, १ जनाले साइकल मर्मत तालिम लिएर आय आर्जन गरिरहेको रोकायाले बताइन् । अपाङ्गता भएका ६ जनालाई बाख्रा पालन सम्बन्धि तालिम प्रदान गरी बाख्रा पनि दिइएको उनले बताइन् ।

त्यस्तै ४ जनालाई बंगुर पालन सम्बन्धि तालिम प्रदान गरिएको रोकायाको भनाई छ । सुुप समावेशी विद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरिनुका साथै खाना र खाजाका लागि निरन्तर सहयोग गर्दै आइएको उनले बताइन् । यस बाहेक अन्य थुप्रै कार्यक्रमहरु संस्थाले गर्दै आएको उनले बताइन् ।
आइतबार परिलक्षित संस्थाले फेल्म नेपालको आर्थिक सहयोग तथा गोदावरी नगरपालिकाको समन्वयमा सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक थापाले छात्रवृक्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिने गरी आफूहरुले प्रयास गरिरहेको बताएका छन् ।















