गोदावरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशासकिय धर्मराज विनाडी र इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक पुष्कर पन्तले आज (मंगलबार) सामुहिक रुपमा १६ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आजदेखी उत्त अभियान सञ्चालन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले महिलामाथी विभीन्न किसिमले हुने हिंसा अन्त्य गर्नुपर्ने बताइन् ।

उनले महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने भन्दै महिला र पुरुषलाई समान नजरले हेर्नुपर्ने बताइन् । महिला, बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामीले १६ दिनसम्म नगरपालिकाका विभीन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने कार्यतालिका रहेको बताइन् । त्यस्तै नगरपालिकाभित्र काम गर्दै आएका विभीन्न संघ संस्थाहरुले पनि महिला विकास शाखासंग समून्वय गरी विभीन्न कार्यक्रमहरु गर्ने भएका छन् ।

nisarga

उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी, इलाका प्रहरी कार्यालय मालाखेती,विभीन्न संघसँस्थाका प्रतिनिधी लगायतको उपस्थीती रहेको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३४ वर्षभइसकेको छ ।

नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावेल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ ।

पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनी शिक्षित र सचेत थिए । यी दिदीबहिनी तत्कालीन त्रुजिलो तानाशाहीको विरुद्धमा भएकाले तत्कालीन सरकारले तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यिनीहरु पटकपटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातानाका बाबजुद यी दिदिबहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् ।

यसै क्रममा सन् १९६० मा निरङ्कुश सरकारको विरोध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकन गणराज्यको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा तिनै दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा राज्यको हस्तक्षेपका कारण सफल हुन सकेन र अन्ततः उनीहरु पक्राउ परे । सन् १९६० को सुरुआतमै त्यहाँको सरकारले यिनीहरुलाई मुलुकको ठूलो समस्याका रुपमा घोषणा ग¥यो । यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरुको हत्या गरियो ।

यी दिदिबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाका रुपमा लिइयो र यिनीहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो । डोमिनिकन गणराज्यका थुप्रै गीत, कविता र पुस्तक यी दिदीबहिनीको सम्झना र योगदानमा लेखिएका छन् । सन् १९९२ मा रुत्गर्स विश्वविद्यालयको महिलाहरुको भूमण्डलीय नेतृत्व केन्द्रले प्रायोजन गरी सञ्चालन गर्न थालेपछि यसले अन्तर्राष्ट्रिय अभियानको रुप लिएको हो ।

सन् १९९५ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रुपमा मनाउन संयुक्त राष्ट्रसङ्घमा पेस गरेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट सोही वर्षको डिसेम्बर १७ का दिन सर्वसम्मत रुपमा पारित भएपछि संयुक्त राष्ट्रसङ्घीय प्रणालीका राष्ट्रहरु विश्वव्यापी रुपमा यो अभियानमा सहभागी हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरुको पहिचान गरी तिनको समाधानका लागि राज्यहरुलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ ।

मानव अधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागिसमेत जोड दिँदै आएको छ । यस वर्ष ‘डिजीटल हिंसा अन्त्य गर्न एकजुट होऔँ’ अन्तर्राष्ट्रिय नाराका साथ मनाउन लागिएको यो अभियान नेपालमा ‘प्रविधीको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरुपमा मनाइँदै छ ।

नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीयविभेद र चरम लैंगिकविभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जल समाधि लिएकी थिईन् ।