सुदूरपश्चिम मन्त्रिपरिषद्का निर्णय : मृतक कैदीका परिवारलाई ५ लाख राहत र सडक मर्मत निर्देशिका स्वीकृत

Image
maya metro

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आइतबार धनगढीमा बसेको बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयलाई औपचारिकता दिएको छ। यसअघि प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेकोमा मन्त्रिपरिषद्ले त्यसलाई कार्यान्वयन गर्ने बाटो खोलेको हो।

यसैगरी बैठकले प्रदेशभित्र सडक मर्मत प्रणालीलाई संस्थागत गर्न ‘सडक मर्मत समूह निर्देशिका’ स्वीकृत गरेको छ। प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडकहरूको नियमित मर्मतसम्भारका लागि अब मर्मत समूहमार्फत कार्य गरिनेछ। सरकारले हरेक वर्ष करिब २०० किलोमिटर कालोपत्रे सडक थप्दै आएको सन्दर्भमा नियमित मर्मत गर्दा सडकको आयु लामो हुने अपेक्षा गरिएको छ।

nisarga

मन्त्रिपरिषद्ले ‘सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२’ लाई पनि स्वीकृत गरेको छ। साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न बैठकले स्वीकृति प्रदान गरेको छ।