कैलालीका ११ स्थानबाट निर्वाचन प्रहरीलाई तालिम दिइँदै

Image
maya metro

अत्तरिया – कैलालीका लागि लागि छनोट भएका निर्वाचन प्रहरीलाई जिल्लाका ११ स्थानबाट तालिम दिइँदै छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका ३ हजार ५७६ जनालाई आइतबारबाट तालिम दिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) नरेन्द्र चन्दले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा ६२४ जना पुरुष र ६३२ जना महिला तथा ८ जना वैकल्पीक उम्मेदवार गरी १ हजार २६४ जना, इलाका प्रहरी कार्यालय हसुलियामा १२९ जना पुरुष, ७४ जना महिला तथा २ जना वैकल्पीक गरी २०५ जना र इलाका प्रहरी कार्यालय फुलबारीमा ९३ जना पुरुष, ५६ जना महिला तथा २ जना वैकल्पीक आएका गरी १५१ जनालाई तालिम दिन लागिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमल्सिनाले बताएका छन् ।

nisarga

त्यस्तै इलाका प्रहरी कार्यालय टिकापुरमा १९८ जना पुरुष, १०५ जना महिला तथा ४ जना वैकल्पीक गरी ३०७ जना , इलाका प्रहरी कार्यालय सुखडमा १८२ जना पुरुष, १३१ जना महिला तथा ६ जना वैकल्पीक गरी ३१९ जना र इलाका प्रहरी कार्यालय मालाखेतीमा २०९ जना पुरुष, १५१ जना महिला तथा २ जना वैकल्पीक गरी ३६२ जनाले तालिम लिइरहेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीमा १३१ जना पुरुष, ७६ जना महिला तथा ३ जना वैकल्पीक गरी २१० जना , इलाका प्रहरी कार्यालय भजनीमा १९१ जना पुरुष, ८१ जना महिला तथा ४ जना वैकल्पीक उम्मेदवार गरी २७६ जना, इलाका प्रहरी कार्यालय सडकपुरमा ७१ जना पुरुष, ७४ जना महिला तथा १ जना वैकल्पीक गरी १४६ जनालाई तालिम प्रदान गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय चौमालाबाट ११३ जना पुरुष र ८१ जना महिलाले गरी १९४ जना निर्वाचन प्रहरीले तालिम लिइरहेका छन् भने, इलाका प्रहरी कार्यालय मसुरीयामा ८३ जना पुरुष, ५६ जना महिला र २ जना वैकल्पिक उम्मेदवार गरी १४१ जनाले तालिम लिइरहेका छन् । निर्वाचन प्रहरीका लागि छनोट भएका ३४ जना उपस्थित नभएपछि वैकल्पिक उम्मेदवारहरुलाई ल्याइएको हो ।

प्रहरी उपरीक्षक चन्दका अनुसार छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनसम्म आधारभूत सुरक्षा, भीड नियन्त्रण, मतदान केन्द्र सुरक्षा, आपतकालीन प्रतिकार्य र निर्वाचन आचारसंहितासम्बन्धी व्यवहारिक अभ्याससहितको तालिम दिन लागिएको हो ।

तालिम अवधिमा मतदानस्थलको सुरक्षा व्यवस्थापन, शंकास्पद गतिविधि पहिचान, मोबाइल गस्ती मतदाता तथा कर्मचारीको सुरक्षामा कसरी खटिने भन्ने विषयमा विशेष अभ्यास गराइने प्रहरीले जनाएको छ । तालिम पूरा गरेपछि उनीहरूलाई जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा परिचालन गरिनेछ ।