
अत्तरिया – आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुका लागि तय गरिएका साझा नितिगत प्रतिबद्धता तथा कार्ययोजना उम्मेदवारहरुलाई बुझाइएको छ ।
आज कैलालीको अत्तरियामा एक कार्यक्रमको आयोजना गरी नेपाल चेम्बर अफ कर्मस सुदूरपश्चिम प्रदेश अन्तरगत सुन्दर सुदूरपश्चिम अभियानले तय गरेका नितिगत प्रतिबद्धता तथा कार्ययोजना उम्मेदवारहरुलाई बुझाइएको हो ।

चेम्बर अफ कर्मस सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले उम्मेदवारहरुलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका १६ मध्य ७ जना उम्मेदवारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा,श्रम संस्कृति पार्टी, मितेरी पार्टी, नेकपा संयुक्तका उम्मेदवारहरुलेमात्रै उपस्थिति जनाएका हुन् ।
प्रदेशका सबै उम्मेदवारहरुलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गरिने कैलाली चेम्बर अफ कर्मसका अध्यक्ष प्रमोद अधिकारीले बताएका छन् ।
‘प्रदेशका ९ वटै जिल्लाका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गर्दैछौँ, उनले भने, हाम्रा शाखा भएका जिल्लामा भौतिक उपस्थितिमै हस्तान्तरण गर्दैछौँ भने नभएका जिल्लाका उम्मेदवाहरुलाई हुलाक र ह्वाट्सेपमार्फत पठाउँदैछौँ ।’
नेपाल चेम्बर अफ कर्मस सुदूरपश्चिम प्रदेश अन्तरगत सुन्दर सुदूरपश्चिम अभियानले गत आइतबार कैलालीको अत्तरियामा पत्रकार सम्मेलन गर्दै नेपाल चेम्बर अफ कर्मस प्रदेश समितिले उम्मेदवारहरुका लागि साझा नितिगत प्रतिबद्धता तथा कार्ययोजना सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएका साझा नितिगत प्रतिबद्धता तथा कार्ययोजनामा स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी, उद्यम र डिजिटल रुपान्तरण, स्वास्थ्य, शिक्षा र मानव पूँजी, भौतिक पूर्वाधार र रणनितिक पहुँच, पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायगरी ५ बुँदा समेटिएको छ ।














