पूर्व राष्ट्रिय सभा सदस्य पार्कीविरुद्ध पक्राउ पुर्जी जारी

Image
maya metro

धनगढी – तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य बनेका जगतबहादुर पार्कीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

कैलाली जिल्ला अदालतले चैत १७ गते पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको भए पनि उनी चार महिनादेखि प्रहरीको सम्पर्कमा आएका छैनन्। डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी घर भएका पार्कीविरुद्ध धनगढी–३ का नरेशबहादुर थापाले चैत २ गते मुद्दा दायर गरेका थिए। उक्त मुद्दा नम्बर ०८२–सि १–०७६९ रहेको छ।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै मुद्दासम्बन्धी प्रक्रिया अदालतमा बुझाइसकिएको बताए। उनका अनुसार पुर्जी जारी भए पनि पार्की अझै पक्राउ परेका छैनन्।

पार्कीविरुद्ध कैलालीसँगै काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको जानकारी प्रहरीले दिएको छ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। केही दिनअघि प्रहरी वृत्त बानेश्वरको टोली उनलाई पक्राउ गर्न बानेश्वरस्थित निवास पुगे पनि उनी फेला नपरेपछि टोली फर्किएको थियो।

प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा पीडितको रकम फिर्ता भए मिलापत्रको सम्भावना रहने व्यवस्था छ। प्रहरीले पार्की सम्पर्कमा आउने र पीडितको रकम फिर्ता गर्ने सम्भावनासहित अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।