
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६ हजार ६ सय ६४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार कक्षा ६ देखि १० सम्मका ६ हजार छ सय २४ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ४० किशोरीलाई खोप लगाइने छ । यो तथ्यांक संकलनमा शाखालाई युनिसेफले सहयोग गरेको हो ।
शाखाले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन समेत गरेको छ । ६३ वटा विद्यालय र १८ वटा स्वास्थ्यसंस्थासहित ८१ ठाँउमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न ११७ स्वास्थ्यकर्मी,१०६ जना स्वयंसेविका,१८२ जना स्ययंसेवक खटिने अवस्थीले जानकारी दिए ।
विद्यालय र खोपकेन्द्रमा छुटेका लक्ष्यित समूहलाई फेरि कुनै निश्चित ठाँउमा भेला गरि खोप लगाउने उदेश्य रहेको पनि उनले बताए । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रोमा पर्छ ।
खोप अभियानको पूर्वसन्ध्यामा स्वास्थ्य शाखाले आज आयोजना गरेको नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीलाई अभिमुखिकरणमा नगर उप प्रमुख शारदा देवी रोकायाले हरेक क्षेत्रबाट अभियानलाई सफल गर्न आग्रह गरिन् । यो खोप अभियान नेपालका लागि निकै महत्वपूर्ण भएको भन्दै सबै सम्बन्धित निकायले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पु¥याउने भन्दै उनले उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरी वञ्चित हुनु नपरोस् भनेर अहिले समुदायस्तरमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताइन् ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार ३१३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।















