
धनगढी – कैलाली र कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ६७ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख ३७ हजार रुपैयाँ बराबरका चिनी, कुर्ती सेट, विभिन्न किसिमका मोबाइल कभरलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट अन्दाजी २९ हजार ६ सय रुपैयाँ बराबरका पेय पदार्थ, पानीपुरी, बोइलर कुखुरा, प्लास्टिक झिल्लीलगायतका सामान बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।















