
अत्तरिया – कंचनपुरको कृष्णपुर –७ स्थित कलुवापुरमा सुदूरपश्चिमको मौलिक पर्व बन्धुनी भव्यताका साग मनाइएको छ । दियालो कृषक समूहको आयोजनामा बन्धुनी विशेष देउडा सांस्कृतिक कार्यक्रम कलुवापुरस्थित दोमिल्ला चौरमा भव्यताका साथ मनाइएको हो ।
समूहका अध्यक्ष राम बहादुर विकको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न गायक गायिकाहरुको विशेष प्रस्तुती रहेको थियो ।

सांस्कृतिक कार्यक्रमपछि भदौ १ गते राखिएको दोमिल्ला चौरमा बुढी पनि आज पोलिएको छ । असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाउने गरिन्छ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ ।
तर पछिल्लो पहाडी जिल्लाबाट कैलाली कञ्चनपुर बसाइ सरेर आएकाहरुले तराइका जिल्लामा पनि बन्धुनी पर्व मनाउने गरेका छन् । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार यहाँ धुमधामका साथ मनाउने गरिन्छ ।

सुदूरपश्चिममा भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिन्छ । बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ ।
यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन् । परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शवदहन गरेको कथन रहेको छ ।















