
अत्तरिया – इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार चक्र खड्का कैलालीमा भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हवल्दार खड्कालाई अपराध नियन्त्रण तथा अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

मालाखेती क्षेत्रमा भएका चोरी तथा अन्य आपराधिक घटनाको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्दै घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउ र चोरी भएका सामग्री तथा नगद रकम बरामद गर्न महत्वपूर्ण योगदान पुर्याएको आधारमा उनलाई सम्मान गरिएको जनाइएको छ ।
उनको अनुसन्धान क्षमता, लगनशीलता, कर्तव्यनिष्ठा र अपराध नियन्त्रणमा देखाएको सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक महिना ‘उत्कृष्ट प्रहरी’ सम्मान प्रदान गर्दै आएको जनाएको छ ।















