अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ आयोजना हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ आयोजना हुने भएको छ । समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा कार्तिक १३ देखि १८ गतेसम्म छ दिने महोत्सव आयोजना गर्न लागिएको हो ।

सुदूरपश्चिममा स्वास्थ्यसम्बन्धी सचेतना, विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष संवाद तथा स्वास्थ्य परीक्षणलाई एकै ठाउँमा जोड्ने उद्देश्यले ‘स्वास्थ्य युवा महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कर्मसका सुदूरपश्चिम अध्यक्ष विनोद मल्लले बताएका छन् । महोत्सवमा विशेषगरी १२ देखि ४५ वर्ष उमेर समूहका महिला–पुरुषलाई लक्षित गरी स्वास्थ्य सचेतना, विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष सवाल–जवाफ, स्वास्थ्य परीक्षण तथा परामर्शका कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन् ।

nisarga

महोत्सवको पहिलो चरणमा विशेषज्ञ चिकित्सक तथा प्रोफेसरहरूसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया र सवाल–जवाफ गरिनेछ । त्यसपछि स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सञ्चालन गरिने आयोजकको योजना छ । महोत्सवमा विभिन्न रोगका लक्षण, कारण, रोकथाम तथा उपचार, मानसिक स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैलीका विषयमा जानकारी दिइनेछ ।

साथै स्वास्थ्यसम्बन्धी भ्रम, अन्धविश्वास तथा गलत सूचनालाई चिकित्सकीय तथ्यका आधारमा स्पष्ट पार्ने प्रयास गरिने आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका सहभागीलाई सम्बन्धित अस्पताल तथा चिकित्सककहाँ रेफर गरिनेछ । सहभागी अस्पताल तथा स्वास्थ्य संस्थासँगको सहकार्यमा रेफर भएका बिरामीलाई सम्भव भएसम्म उपचारमा विशेष छुट तथा सहुलियत उपलब्ध गराउने प्रयास गरिने जनाइएको छ ।

आयोजकका अनुसार महोत्सवमा विद्यालय तथा कलेजका विद्यार्थी, युवा, बिरामी तथा समुदायका नागरिक, शिक्षक र सामाजिक संघसंस्थाका प्रतिनिधिसहित करिब १८ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवलाई स्वास्थ्य परीक्षणमा मात्र सीमित नगरी युवा उद्यमशीलता, रोजगारी, व्यवसाय, उत्पादन तथा आर्थिक विकाससँग समेत जोड्ने तयारी गरिएको छ।

अस्पताल, मेडिकल कलेज, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य प्रविधि, फिटनेस तथा पोषणसम्बन्धी व्यवसायलाई समुदायसँग जोड्दै युवालाई उद्यमशीलता, स्टार्टअप तथा स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यसमेत महोत्सवको रहेको छ । महोत्सवमा विशेषगरी अत्तरिया क्षेत्रकासाथै सुदूरपश्चिम र सुदूरपश्चिम घर भइ अन्यत्र कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य जाँचको योजना रहेको आयोजकले जनाएको छ ।