
डडेल्धुरा – राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो।
राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना जारी गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो। राष्ट्रिय भूमि आयोग जिल्ला समिति डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीका अनुसार जिल्लाको अमरगढी नगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवेदन दिन भनिएको छ।
यसअघि भदौ पहिलो साता नवदुर्गा र भागेश्वर गाउँपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीलाई आवेदन दिन सूचना प्रकाशन गरिएको थियो। जिल्लाका पर्शुराम नगरपालिका, गन्यापधुरा, अजयमेरु र आलिताल गाउँपालिकामा भने लगत संकलन गरी नाप जाँचको कार्य जारी छ। नाप जाँच जारी रहेको चार पालिकामा ६ हजार ८८६ भूमिहीन र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन्।
यसपटक डडेल्धुराको अमरगढीसहित अछाम जिल्लाको कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, चौरपाटी, ढकारी र तुर्माखाद गाँउपालीकाका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि पनि आवेदन खुला गरिएको छ।















