डडेल्धुरा सदरमुकामको सडक चौडा बनाईने

Image
maya metro

डडेल्धुरा – डडेल्धुरा सदरमुकामको सडक चौडा बनाईने भएको छ । अर्थ मन्त्रालयले सडक क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रालयले बुधबार महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकमान्तर गर्ने निर्णयलाई स्वीकृत गरी कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

nisarga

यसअघि अर्थ मन्त्रालयले २० करोडको स्रोत सहमति दिएकोमा बुधबार २० करोड रकमान्तर गर्दै कार्यान्वयनका लागि महालेखालाई आग्रह गरेको हो ।

मुआब्जाका लागि ८५ करोड ६५ लाख बजेट आवश्यक पर्ने देखिन्छ । अब मुआब्जाको बाँकी ६५ करोड चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको बताईएको छ ।

यसअघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुर सम्मको सडक फराकिलो बनाउनका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले ४४ करोडको स्रोतको सहमति पाइसकेको छ ।

दायाँबायाँ १५÷१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै पहिलोपटक ०७७ जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो ।