
काठमाडौं – देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज आइतबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपराह्नतिर हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
















