जङ्गली जनावरबाट हैरानी खेप्दै डडेल्धुराका किसान

Image
maya metro

डडेल्धुरा – नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ।

बुधबार जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए। बर्सेनी जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्।

nisarga

जङ्गली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पुर्‍याएको छ। वडा कार्यालयका अनुसार करिब रु ५० लाख बराबर क्षति भएको छ। स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताए। ‘जंगली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन्’, उनले भने, ‘सखाप पारेर जान्छन्, के गर्ने हाम्रा लागि पहल गरिदिनु पर्‍यो।’

उनले आफ्नो दुःखेसो पालिका प्रमुखलाई पनि सुनाएको र पालिका प्रमुख लक्ष्मी अवस्थीले बैठक बसेर केही व्यवस्थापन गर्ने आश्वासन दिएको सुनाए। वडा नं २ कै दुर्गादेवी साउँदलाई १४ जनाको परिवार यसै खेतीको आशामा बाँचेकाले यसपालि के खाने भन्ने चिन्ता छ। पोहोर साल गाउँमै रहेका केहीलाई बँदेलले घाइते बनाएकाले पहरा दिन पनि डर छ। ‘खेतीपाती लगाएर उल्टो दुःख मात्रै पाइन्छ’, उनको दुःखेसो छ।

साउँदका अनुसार प्रायः रातमा आएर खाने जङ्गली जनावर धपाउन महिलालाई ठूलो चुनौती छ। रातभर जाग्राम बस्दा पनि खेती बचाउन मुस्किल हुन्छ। स्थानीय गणेशबहादुर साउँदका अनुसार ५० देखि ६० रोपनी जमिनमा लगाएको सबै खेतीपाती पूर्णरूपमा सखाप भएको छ।

तत्कालका लागि राहत र दीर्घकालीनरूपमा खेतबारीको संरक्षणका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने ​स्थानीयवासीको माग छ। किसानको क्षतिबारे पालिका, कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालयलाई मौखिक जानकारी गराएकोमा लिखितरूपमा दिने काम भइरहेको जनाइएको छ।

जङ्गली जनावरका कारण अजयमेरु–१ समैजी, अमरगढी, गन्यापधुरा, भागेशवरका किसानले हैरानी खेप्नुपरेको छ। सरकारले स्थायी समाधानका लागि घेरबार तथा दिगो समाधान गरिदिनुपर्ने स्थानीयवासीको माग छ।

रासस