
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थीत गेटामा रहेको गेटा आँखा अस्पतालबाट एक वर्षमा दुई लाख असी हजार एक सय दश जना आँखाका बिरामीले सेवा लिएका छन् ।
गत आर्थीक वर्ष २०८०/८१ मा गेटा आँखा अस्पताल,मातहतका उपचार केन्द्र र शिविरबाट गरी दुई लाख असी हजार एक सय दश जना आँखाका बिरामीले सेवा लिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिएका छन् । ति मध्य गेटाबाट मात्रै ९५ हजार २४३ जनाले सेवा लिएका छन् ।

जस्मा ३० हजार ८५० जना भारतीय नागरिक रहेका छन् । सेवा लिएका बिरामी मध्य १६ हजार ८६८ जनालाई गेटाबाट मात्रै शल्यक्रिया सेवा प्रदान गरीएको भट्टले बताएका छन् । त्यस्तै २२ हजार ४७६ जनाले अन्य उपचार केन्द्र र शिविरमार्फत शल्यक्रिया सेवा प्रदान गरीएको भट्टको भनाई छ ।
अस्पतालले १ वर्षको अवधीमा शिविर वटा अपरेशन शिविर र २४ वटा स्क्रीनीङ शिविर सञ्चालन गरीएकोमा पाँच हजारभन्दा बढी बिरामीको निशुल्क शल्यक्रिया गरीएको भट्टले बताएका छन् ।
अस्पतालले विगतका वर्षहरु जस्तै सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमै पुगी आँखा उपचार सेवामा पहुँच बढाउन महिला स्वास्थ्य स्वयंसेविका लागि तालिम, शिक्षकहरुका लागि दृष्टि परिक्षण तालिम, स्वास्थ्य कर्मीहरु तथा औषधि व्यवसायीहरुका लागी तालिम सञ्चालन गरेको छ ।
हाल गेटा आँखा अस्पतालले आँखाको नानीको बिशेष उपचार तथा प्रत्यारोपण सेवा, बाल आँखा उपचार सेवा, आँखाको दृष्टि पर्दाको बिशेष उपचार सेवा, अकुलोप्लाष्टि सेवा, जलविन्दु उपचार विशेष क्लिनिक, न्यून दृष्टि सेवा, कन्ट्याक्ट लेन्स सेवा, लेजर सेवा, प्रयोगशाला सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।
आँखा उपचार सेवामा पहूँच बढाउने उदेश्य सहित आँखा अस्पतालले गत वर्ष प्रदेशका ४ स्थानमा आँखा उपचार केन्द्र स्थापना गरी सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा २७ वटा शाखा मार्फत सेवा बिस्तार गरेको छ । कैलालीमा गेटा बाहेक ६,कञ्चनपुरमा ४,डडेल्धुरामा २,बैतडीमा ४,दार्चुलामा २ शाखा रहेका छन् । त्यस्तै डोटीमा २,बाजुरामा ३,बझाङमा २ र अछाममा २ गरी २७ ओटा शाखा रहेका छन् ।
ती मध्य महेन्द्रनगर,टिकापुर र डडेल्धुराका शाखा अस्पतालका रुपमा सञ्चालीत छन् भने धनगढीस्थीत बुद्ध मन्दिर शाखा र कञ्चनपुरको बेलौरी शाखा सर्जीकल सेन्टरका रुपमा सञ्चालीत छन् । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालीत गेटा आँखा अस्पताल २०३८ सालमा स्थापना भएको थियो ।