सुस्तश्रवण भएकालाई रोजगारी पाउन समस्या

Image
maya metro

कैलाली – सुदूरपश्चिममा पहिलो पटक सुस्तश्रवण अपाङ्गताको समस्याबारे दुईदिने तालिम सम्पन्न भएको छ । तालिमका सहभागीले काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण (कम सुन्ने) भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको गुनासो गरेका छन् ।

सुस्तश्रवण भएका व्यक्तिले राम्ररी कान नसुन्ने भएका कारण उनीहरूसँग घरपरिवारका व्यक्ति तथा समाजका व्यक्ति बोल्न नखोज्ने, तिनका कुरा नबुझेर सोधेमा रिसाउने, झर्किने गरेका पाइन्छ । त्यसै गरेर उनीहरूले राम्ररी सुन्न नसकेका कारण विद्यालय तथा उच्चस्तरको शिक्षा लिन पनि समस्या भोग्नु परेको छ ।

nisarga

सुस्तश्रवण भएकै कारण विद्यालयस्तरको शिक्षा लिनमा कठिनाइ भएपछि आफूले चाहेर पनि शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेको कैलालीको कैलारीकी नीलम चौधरीको गुनासो थियो । यस्तो अवस्थामा आफूले शैक्षिक योग्यता प्राप्त गर्न नसकेको र चाहे अनुसारको रोजगारीमा सहभागिता हुन पनि कठिनाइ भइरहेको उनको भनाइ थियो ।

यस्तै समस्याले आफू काम गर्दै रहेको होटेलबाट निकालिएको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका परिवर्तन कोइरालाले गुनासो गरे । उनि धनगढीकै एक प्रख्यात होटेलमा वेटरका रूपमा काम गर्थे । काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण (कम सुन्ने) भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको उनको भनाइ थियो ।

अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गताको परिभाषामा समावेश गरेको परिभाषा अनुसार सुन्नका लागि श्रवणयन्त्र प्रयोग गर्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुस्तश्रवण अपाङ्गता भनिएको छ ।

सुस्तश्रवण अपाङ्गता भएका व्यक्तिमा पनि कतिपयलाई श्रवणयन्त्र, साङ्केतिक भाषा तथा ‘क्याप्सनिङ’ को आवश्यकता हुन्छ । ‘क्याप्सनिङ’ भनेको अरूले भनेको कुरालाई कम्प्युटरमा लेखेर अगाडि स्क्रिनमा देखाउनु हो तर समाजमा सर्वसुलभ रूपमा यस्ता व्यवस्थाको विकास हुन नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी संस्थाका अध्यक्ष भट्टराईले बताए।

बहिरा सङ्घ कैलाली र राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशको समन्वयमा यस्तो समस्यामा भएकाको समूह गठन गरिएको अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव नरदीप धामीले जानकारी दिए । उनका अनुसार परिवर्तन कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समूह गठन गरिएको छ ।