
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरेको छ । आईतबार विश्वविद्यालय सङ्घर्ष समितिले राष्ट्रिय सभा सदस्य मार्फत राष्ट्रिय सभा अध्यक्षलाई धनगढी मा ज्ञापन पत्र बुझाउँदै बजेट, ऐनमा व्यवस्था भएका पदाधिकारी नियुक्ति र एमबिबिएस सिट सङ्ख्या निर्धारण गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा विश्वविद्यालयको विधेयक ल्याउन खेलेको भूमिका प्रति धन्यावाद ज्ञापन गर्दै आवश्यक बजेट, जनशक्ति र उपकरणहरूको व्यवस्थापन गर्न माग गरिएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह संयोजक आनन्द भट्ट, सचिव धर्म सिंह कुँवरको हस्ताक्षर रहेको ज्ञापन पत्रमा आर्थिक वर्ष २०८२\०८३ को बजेट बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन आग्रह गरिएको छ ।
यस्तै ऐनमा व्यवस्था भएका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया आगामी आर्थिक वर्ष भित्रै गरी चिकित्सा शिक्षा (एमबिबिएस) को सिट सङ्ख्या निर्धारणको प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । संघर्ष समिति विश्वविद्यालय सञ्चालनका लागि निरन्तर दवाव दिईरहेको छ ।















