भारतमा उद्धार गरिएका नेपालीलाई गड्डाचौकी नाकाबाट नेपाल ल्याइयो

Image
maya metro

अत्तरिया – भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५८ जना नेपालीलाई नेपाल ल्याइएको छ । बुधबार (आज) बेलुकी ५ बजे उनीहरुलाई कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल ल्याइएको हो ।

गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ३५ जना तथा आइतबार भारतकै रुद्रपुरबाट २२ जना र आफै आएका १ जना नेपालीहरूको उद्धार गरिएको थियो ।

nisarga

उनीहरूलाई कानुनी प्रकिया पूरा गरि आज देश फर्काइएको हो । आकर्षक रोजगारीको झुटो आश्वासनमा विभिन्न जिल्लाबाट  उनीहरुलाई भारत पुर्याइएको थियो । अदालती र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरूलाई आज सकुशल देश फर्काइएको हो ।

सो क्रममा गड्डाचौकी नाकामा विभिन्न सुरक्षा निकायका प्रमुख,कंचनपुरका प्रमुख जिल्ला अधिकारी लगायत उपस्थित रहेका छन् । उनीहरुलाई कञ्चनपुरको महेन्द्रनगर पुर्याएर गन्तव्यमा पठाइने किन इन्डियाका निर्देशक जोशीले बताएका छन् ।

नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

नाकामा पुगेका युवाहरूले निर्देशक जोशीका पक्षमा नाराबाजी गरेका थिए ।

सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएकोे संसदमा जानकारी दिएकी थिइन् ।