
अत्तरिया – सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको विषय पेचिलो बनेको छ । प्रदेश सरकारले स्थायी राजधानी धनगढीमै कायम गर्ने कसरत सुरु गरेपछि सात वर्ष अगाडि राजधानी तोकिएको गोदावरी नगरपालिकाबासी आन्दोलित भएका छन् ।
उनीहरुले आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विरोध स्वरुप भोलि बृहत भेलाको आयोजना गर्ने बताएका छन् । जय गोदावरी स्वतन्त्र अभियानका संयोजक धन बहादुर बोगटीले भोलि भेलाको आयोजना गर्ने र भेलाको निष्कर्ष अनुसार आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताए ।

बोगटीले दुई तिहाइले घोषणा गरेको राजधानी अहिले आएर सार्ने कुरा चिन्ताको बिषय रहेको बताए ।
“आफैं उपयुक्त ठाउँ भनेर गोदावरी घोषणा गर्ने यत्रो समय बितिसक्दा पनि कार्यान्वयन नगर्ने अनि अहिले आएर धनगढी सार्ने कुरा स्विकार हुँदैन, उनले भने, धनगढी आफैमा कन्जस्टेड ठाउँ छ त्यहाँ भएका कार्यालयहरु अहिले पनि सानो ठाउँमा छन् । अझै बोर्डर नजिक राजधानी बनाउने कुरो पनि अन्तर्राष्ट्रिय कानुन अनुसार पनि उपयुक्त हुँदैन । त्यसैले गोदावरीमा राजधानीको निर्णय कार्यान्वयन गर्न भोलि हुने बृहत नागरिक भेलाले थप विरोधका कार्यक्रम ल्याउनेछ ।”
भोलीको भेलामा सहभागी हुन यस क्षेत्रका तीनै तहका जनप्रतिनिधिहरु, नागरिक अुगवा, उद्योगी, व्यवसायी लगायत सबै क्षेत्रमा आवद्ध व्यत्तिहरुलाई आग्रह गरिएको बोगटीले बताएका छन् । भेला बिहान ८ बजे अत्तरिया चोकमा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा हुने जनाइएको छ ।
यो पनि:
धनगढीमै स्थायी राजधानी कायम गर्ने तयारी सुरु भएपछि गोदावरीमा हलचल















