
अत्तरिया – कैलाली कञ्चनपुर ग्रामीण विद्युतिकरण छाता सङ्गठनको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामफल चौधरीको सभा अध्यक्षतामा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियाको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको साधारण सभामा गोदावरी ८ का वडा अध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा कैलाली र कञ्चनपुरका १५१ वटा ग्रामिण विद्युत सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतिनिधिहरुले साधारण सभामा छाता सङ्गठनका पदाधिकारीहरु माथि प्रश्न उठाए । ११ वर्षसम्म साधारण सभा नगरेको र रकम अपचलन गरेको उनीहरुको भनाई छ । छाता सङ्गठनका सदस्य समेत रहेका प्रेम भक्त रेग्मीले पदाधीकारीहरुले मनोमानी गरेको आरोप लगाए ।

उनले ११ वर्षसम्म साधारण सभा नगरेर संस्थालाई बन्धक बनाएको भन्दै जथाभाबी चेक काटेर भुक्तानी लिएको आरोप लगाए । कार्यक्रममा विशिष्ट अतिथि रहेकी गोदावरी नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रा भुलले संस्थामा योग्य र इमान्दार व्यक्ति बस्नुपर्ने बताइन् । संस्थाको नयाँ कार्यसमिति आजै चयन हुने भएको हुँदा व्यक्तिको क्षमता हेरेर चयन गर्न उनले प्रतिनिधिहरुलाई आग्रह गरिन् ।
त्यस्तै प्रमुख अतिथि रहेका वडा नम्बर- ८ का अध्यक्ष चौधरीले ग्रामीण विद्युत सहकारीहरुले जनताको आवश्यकता पुरा गर्न भूमिका खेलिरहेको बताए । आगामी दिनमा समेत जनताको आवश्यकता पुरा गर्न सहकारीहरु लाग्नुपर्ने भन्दै उनले योग्य व्यक्तिलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर्न आग्रह गरे ।
सभामा उठेका प्रश्नको अध्यक्ष चौधरीले जवाफ दिएका थिए । उनले २०७२ सालदेखि नै पटक पटक साधारण सभाको तयारी गरे पनि सहकारी संस्थाहरु गुणपूरक सङ्ख्या अनुसार नविकरण नभएपछि गर्न नसकिएको बताए । संस्थाका अध्यक्ष प्रदीप कुमार शाहले स्वास्थ्य र व्यस्तताको कारण देखाउँदै पदबाट राजिनामा गरेपछि पनि आफूहरुले पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको उनले बताए ।
२०६५ साल वैशाख २२ गते स्थापना भएको छाता सङ्गठनको प्रथम अधिवेशन २०६६ माघ २५ गते धनगढीमा, दोस्रो अधिवेशन २०६८ जेठ २५ गते महेन्द्रनगरमा र तेस्रो अधिवेशन २०७१ जेठ २९ गते टिकापुरमा भएको थियो । त्यसयता संस्थाको अधिवेशन हुन सकेको थिएन् । आजको साधार सभा सम्पन्नपश्चात बसिरहेको बन्दशत्रले नयाँ कार्यसमिति पनि चयन गर्ने जनाइएको छ ।















