टीकापुर नगरपालिकामा तालाबन्दी

Image
maya metro

टीकापुर – टीकापुर नगरपालिका १ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरुले टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

टीकापुर बहुमुखी क्याम्पस र बीरेन्द्र विद्या मन्दिर माविको जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासीले जग्गा नापजाँचको माग गर्दै प्रदर्शन गरेका छन् । विहीबार दिनभर नगरपालिका कार्यालयमा धर्ना दिएका उनीहरुले साँझपख कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्ने क्रममा मूल ढोकाको छेउमा लगाएको ठूलो सीसा फुटाएका छन् भने सीसा फुटदा नगर प्रहरी रिमा साउदको हात काटिएको छ ।

nisarga

नगर प्रमुख रामलाल डगौरा थारुले मिडियासँगको अन्तरवार्तामा कानुनअनुसार पाउनु पर्नेले जग्गा पाउने तर तत्काल दिन नसकिने बताएका थियो ।

जग्गा अतिक्रमण गरी बसे पनि नगरपालिकाले हटाउन नसक्ने हटाउनु परे सङ्घीय सरकारबाट मात्रै हुने बताएका थिए । नगर प्रमुखको उक्त भनाइलाई विषय बनाउदै निर्वाचन ताका भोट लिने तर जग्गा दिन असहयोग गर्न लागेको आरोप लगाउँदै भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास एकता समाज नगर समन्वय समिति टीकापुरका अध्यक्ष पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै विरोध गरे ।

पार्टी कामको सिलसिलमा काठमाडौंमा रहनु भएका नगर प्रमुखको सचिवालयले नगरपालिका सुकुम्वासी समस्या समाधान गर्न सदैव लागिरहेको र भूमि आयोगले काम गरिरहेकाले तत्काल प्रदर्शन रोक्न र संवादमा आउन आह्वान गरे पनि सुकुम्वासीहरुले प्रदर्शन जारी राखेका छन् ।

नगर प्रहरी प्रमुख पहलबहादुर शाहले सयौको सङ्ख्यामा आएका सुकुम्वासीले कार्यालय छिर्ने चार वटै ढोकामा ताला लगाएर धर्ना दिएको र अन्तिममा मूल ढोकामा ताला लगाइ सीसा फुटाएर गएको बताए। टीकापुर नगरपालिकाको तथ्यांकअनुसार वडा १ मा मात्रै एक हजार ११७ भूमिहीन दलित, एक हजार ५२८ सुकुम्वासी र दुई हजार ४८० गरी पाँच हजार १२५ जनाले भूमि आयोगमा निवेदन दिएका छन् । यहाँ एकतानगर, बिशालनगर, शिवनगर, गणेशपुर, चमेलीपुर, एकतापुर, शक्तिनगर, भूपु कर्मचारी, भूपु कमैया नामका शिविर खडा गरेर बसेका छन् ।