सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष पूरा, यस्ता छन् उपलब्धि

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गत वर्ष साउन २० गते दोस्रो पटक मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारको मंगलबार एक वर्ष पूरा भएको हो ।

तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो ।

nisarga

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले सरकारको एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारको एक वर्षे कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताएका छन् । एक वर्षे प्रगति प्रतिवेदन सुनाउँदै उनले आफू नेतृत्वको सरकारले साक्षर प्रदेश घोषणा गरेको बताए । उनले यस वर्ष कानुन निर्माण तर्फ १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधिहरू जारी गरिएको बताए । त्यसका साथै प्रदेश सरकारको खर्च गर्ने क्षमतामा पनि वृद्धि भएको उनले बताए । अनेक चुनौती र कठिनाइको सामना गर्दै आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएका छौँ उनले भने जुन यस प्रदेश सरकारको अहिले सम्मको उच्च उपलब्धि हो । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरू मध्ये ५१।६ प्रतिशत अंक हासिल गरी सुदूरपश्चिम प्रथम बनेको समेत बताए ।

यसै बीच गत वर्ष प्रदेश सरकारले विभिन्न किसिमका करिब ३५५ किलोमिटर सडकहरू निर्माण गरेको मुख्यमन्त्री शाहले बताए । उनका अनुसार प्रदेश सरकारले १०६ किमी कालोपत्रे, १०३ किमी ग्राभेल र १४६ किमी कच्ची सडक गरी ३५५ किमी सडक मर्मत गरेको हो ।

यस्तैगत वर्ष प्रदेश सरकारले १ लाख बढी जनसङ्ख्यालाई खानेपानीको सुविधा दिएको मुख्यमन्त्री शाहले बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले २०८२ असार मसान्त सम्म थप १ लाख ३ हजार ५२४ जनसङ्ख्यालाई खानेपानी सुविधा थप गरिएको बताए । त्यस्तै खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २ हजार १३३ कि।मी। पाइपलाइन जडान लगायतका कार्य गरेको उनको भनाई छ । त्यसका साथै ११ हजार ९३९ निजी धारा जडान गरिएको उनले बताए ।

उनले अर्ब ३८ करोड ७० लाख रकम बरावरको आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भई आयोजनाको काम सुरुवात गरिएको पनि बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकार बिच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता अनुसार कैलालीका ३ र डोटीको एउटा पालिकामा आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त आयोजना कैलालीको जानकी, बर्दगोरीया र जोशीपुर गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा सञ्चालन गरिने उनले बताए ।

त्यति मात्रै नभई गत आर्थिक वर्षमा १ हजार ६२८ हेक्टर जमिनमा सिँचाई सुविधा थप गरिएको उनले बताए । उनले २७ किलोमिटर तटबन्ध निर्माणका साथै २७ हेक्टर जमिन नदी उकासबाट प्राप्त भएको समेत बताए ।