धनगढीबाटै प्रशासनिक काम गर्दै डीडीसी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले धनगढीस्थित कार्यालयबाट प्रशासनिक काम सुरु गरेको छ । धनगढी उपमहानगरपालिका १५ मा रहेको कार्यालयबाट गत असार २९ गते देखि नै डीडीसीले प्रशासनिक काम कारबाही सुुचारु गरेको हो ।

अत्तरियास्थित कार्यालयको तालाबन्दी नखुलेपछि गत असार २९ गते देखि धनगढीमा रहेको कार्यालयबाट केहि प्रशासनिक कार्यहरु अगाडि बढाइएको डीडीसी अत्तरियाका प्रमुख निरन्जन भट्टराईले बताएका छन् । असार मसान्त सकिन लाग्दा समेत अत्तरियामा रहेको कार्यालयको तालाबन्दी यथावत रहेपछि अति आवश्यक अनलाइन बिल र भुत्तानीको कार्य धनगढीमा रहेको कार्यालयबाट गरिएको भट्टराईले बताए ।

nisarga

उनका अनुसार पुराना कागजात र सफ्टवयरहरु अत्तरियामै हुँदा पूर्णरुपमा प्रशासनिक कार्य अगाडि बढाउन भने सकिएको छैन । “अनलाइन बिलिङ, पत्राचार लगायतका कामहरु धनगढीबाट गरिरहेका छौँ, भट्टराईले भने, कर्मचारीको तलब, किसानको भुत्तानी लगायतका धेरै कामहरु ठप्प नै छन् ।” तालाबन्दी खोल्ने विषयमा पछिल्लो समय कुनै छलफल नभएको भट्टराईले बताए ।

सम्बन्धित समाचार

डीडीसी अत्तरियामा एक महिनादेखि ताला, किसानको भुक्तानी ठप्प

संघर्ष समितिका सह संयोजक धर्म सिंह कुँवरले तालाबन्दी यथावत नै रहने बताए । डीडीसी अत्तरियामै राख्न गोदावरीबाट निर्वाचित जनप्रतिनिधिहरुको पहलकदमी नपुगेको संघर्ष समितिको बुझाई छ । धनगढी सार्न लागेको डीडीसी नसार्न माग गर्दै आएको संघर्ष समितिले गत जेठ ८ गते अत्तरियास्थित कार्यालयमा तालाबन्दी गरेको थियो ।

त्यसपछि पनि उनीहरुले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । जेठ १४ गते यस क्षेत्रका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरुसंग पनि छलफल गरिएको थियो । समितिले जेठ १८ गते कैलालीका प्रमुख जिल्ला अधिकारीसंग भेट गरेको थियो । प्रमुख जिल्ला अधिकारीले डीडीसीका अध्यक्ष बेद बहादुर क्षेत्रीसंग फोनमार्फत कुराकानी गर्दै द्दिपक्षिय छलफलका लागि बोलाएका थिए ।

त्यसपछि डीडीसीका उप महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी छलफलका लागि आएका थिए । गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट सहितको टोलीले उनलाई गोदावरीका तीन स्थानमा जग्गा व्यवस्थापन गर्न सकिने भन्दै अवलोकन गराएका थिए ।