
माेहन पनेरू
डोटी – डोटी टाढाटाढाबाट आएका सर्वसाधारण पालैपालो लाइनमा उभिएका थिए—कसैको गिजा सुन्निएको, कसैको दाँत दुखेको, त कसैलाई वर्षौँदेखि बेवास्ता गरिएको मुख स्वास्थ्यबारे चिन्ता। गाउँघरमा सामान्य जाँचसमेत सहज नहुँदा थुप्रै समस्या थामिएका थिए। कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिच्युट कैलालीको सहकार्य र जेसीज डोटीको आयोजनामा सञ्चालन गरिएको शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी निःशुल्क जाँच, परामर्श र सामान्य उपचार सेवा प्रदान गरिएको थियो।
बिहानैदेखि सुरु भएको शिविर बेलुकासम्म निरन्तर चल्यो, जहाँ चिकित्सक टोलीले सेवाग्राहीको चापबीच पनि धैर्यपूर्वक सेवा दिएको थियो। शिविरमा कुल १ सय ७८ जनाले सेवा लिएका थिए। शिविरमा आएका धेरैजसो सेवाग्राहीले वर्षौँदेखि सहँदै आएका समस्या पहिलोपटक जाँच गराउने अवसर पाएको सेवाग्राही गणेश कठायतले बताए।
‘दाँत दुख्दा पनि औषधि खाएर बस्ने बानी थियो, अस्पताल पुग्नै गाह्रो पर्थ्यो,’ कठायतले भने, ‘आज जाँच र परामर्श पाउँदा धेरै सहज महसुस भयो।’ यस्ता अनुभवले ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य सेवा अझै कति पहुँचबाहिर छ भन्ने चित्र स्पष्ट पार्छ। चिकित्सकहरूका अनुसार शिविरमा गिजासम्बन्धी समस्या, दाँत कुहिने, मुखको सरसफाइसँग सम्बन्धित रोग बढी देखिएका थिए।
समयमै उपचार नपाउँदा साना समस्या जटिल बन्दै जाने भएकाले नियमित जाँच र सचेतना आवश्यक रहेको उनीहरूले बताए। आयोजक जेसीज डोटीका अध्यक्ष डिल्ली जोशीले यस्ता कार्यक्रमले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउने मात्र नभई जनचेतना अभिवृद्धिमा पनि टेवा पुर्याउने बताए।
‘दन्त स्वास्थ्यलाई हामीले प्रायः बेवास्ता गर्ने गरेका छौँ, तर यसले समग्र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ,’ उनले भने, ‘यस्ता शिविरमार्फत गाउँगाउँमा पुगेर सेवा दिनु हाम्रो प्राथमिकता हो, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’ ग्रामीण भेगमा स्वास्थ्य सेवा अझै सीमित हुँदा यस्ता अल्पकालीन पहलहरू नै धेरैका लागि पहिलो ढोका बन्छन्।
















